बरहथवा (सर्लाही), २३ चैतः सिराहाको औरही गाउँपालिका–५, मा महायज्ञको नाममा जातीय विभेद गरेको घटनाको सेलाएको छैन । त्यसविपरीत सर्लाहीमा भने विभिन्न नाममा हुने विभेदका घटनालाई चुनौती दुवै समुदाय मिलेर महायज्ञ आयोजना गरिएको छ । जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाहरूको नेतृत्वमा विश्वकल्याणको कामनासहित यही चैत २० गतेबाट नवाह महायज्ञ सञ्चालन भइरहेको छ ।

बबरगन्जस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा सामूहिक रूपमा महायज्ञको आयोजना गरिएको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिनुभयो । महायज्ञमा दलित समुदायलाई प्रतिनिधित्व गर्ने गुरुद्वय रामचन्द्र दास र बिसुनी दासले कथावाचन गरिरहनुभएको छ । महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मनोज दासले जानकारी दिनुभयो । कथाश्रवणका लागि नजिकैका गाउँबाट सबै समुदायका सयौँ स्थानीय दैनिकजसो सहभागी भइरहेका उहाँले बताउनुभयो । आयोजक समिति सदस्य देवनारायण महतोले सबैको सल्लाहबमोजिम सामाजिक सन्देश प्रवाह गर्ने गरी मन्दिरमा महायज्ञ आयोजना गरिएको बताउनुभयो । भगवान र धर्मको नाममा उचनीच भेदभाव गर्न नहुने सन्देश दिन महायज्ञ सफल हुने उहाँको विश्वास छ । “धर्म र भगवानको कुरा गर्दा सबै समान छौँ । सानो ठूलो भनेर जातको कुरा र विभेद गरे कसरी पुण्य हुन्छ ?”, उहाँले प्रश्न गर्नुभयो, “यो त अपमान भयो, भगवानको घरमा हामी सबै समान हौँ । कसैलाई उहाँले काखा र पाखा गर्नुहुन्न । त्यो भावना पालेर गरिने काम धर्म होइन ।” समितिका अर्का सदस्य रुपलाल महतोले आफ्नो समाजमा हरेक मठमन्दिरमा हुने पूजाआजामा सबैको साझा प्रतिनिधित्व रहेको बताउनुभयो । गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले मधेशमा जातीय हिसाबले दलित भनेर हेपिएका दास समुदायकै युवाहरूको अगुवाईमा सुरु भएको महायज्ञले समाजमा जातका पक्षपातीलाई गतिलो जवाफ दिएको बताउनुभयो ।
यस महायज्ञले समाजलाई एकताको सूत्रमा बाँध्ने काम गरेको उहाँको भनाइ छ । “केही दिन पहिला मात्र महायज्ञ लगाउने नाममा सर्लाहीमा दलित परिवारको उठिबास लगाएको घटना बाहिरिएको थियो । त्यति मात्रै होइन दलित परिवारको घरले चर्चेको स्थानको माटो खनेर फालेको खबर पनि सुन्यौँ”, अध्यक्ष महतोले भन्नुभयो,“यहाँ दलित र गैरदलित समुदायको आयोजनामा भएको नवाह महायज्ञमा दलित समुदायका दुई जना गुरुहरूले कथावाचन गरिरहनु भएको छ । त्यसको आनन्द सबै समुदायका नागरिकले लिइरहेका छन् । यो एक उदाहरणीय कार्य हो । धर्मले समाजलाई तोड्ने नभई जोड्ने काम गर्नुपर्छ । त्यो सन्देश दिन सफल भएका छौँ ।” महायज्ञ स्थलमा भगवान विष्णुका ५२ अवतारको प्रतिमासमेत निर्माण गरिएका छन् । स्थानीय मूर्तिकार तनकी दासले उक्त मूर्ति निर्माण गर्नु भएको महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक दासले बताउनुभयो । गाउँका स्थानीय अगुवा तथा सामाजिक व्यक्तिहरूको सहभागितामा माना मुठी सहयोग सङ्कलन गरेर महायज्ञ भइरहेको उहाँले जानकारी दिनुभयो । महायज्ञमा दैनिक पाठ पारायण, भजनकीर्तन तथा झाकी प्रदर्शन भइरहेको आयोजक समिति सदस्य संजीप साहले बताउनुभयो । समितिमा गैरदलित समुदायबाट राम इकवाल महतो, परशुराम झा, वंशिलाल महतो र गौरी महतोलगायत रहनुभएको छ ।