काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व बजार लगातार तेस्रो दिन पनि ओरालो लागेपछि चीनलाई अमेरिकामा आयात हुने सामानहरूमा थप ५० प्रतिशत कर लगाउने चेतावनी दिनुभएको छ ।

हिजो ह्वाइट हाउसमा बोल्दै राष्ट्रपति ट्रम्पले अन्य देशहरूसँग हुने वार्तामा पनि हालै लागू भएको कर रोक्ने पक्षमा आफू नरहेको बताउनु भयो । विश्वका सबै देशमा कर लागू गरेपछि धेरै देशहरु अमेरिकासँग वार्ताका लागि इच्छुक भएको बताउनु भयो ।
चीनले अमेरिकाले लगाएको करको बदलामा लगाएको जवाफी कर आजसम्म फिर्ता नलिए थप ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी छ । यदि यस्तो अवस्था आएमा चीनबाट अमेरिकामा सामान आयात गर्दा १ सय ४ प्रतिशत करको सामना गर्नुपर्नेछ ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलको एक पोस्टमा चीनले शुक्रबार घोषणा गरेको अमेरिकी सामानहरूमा लागू गरेको ३४ प्रतिशत अतिरिक्त कर फिर्ता लिन चेतावनी दिनुभएको हो ।