दमक, ३० चैत । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका इन्चार्ज शेरधन राईले राजाका पालमा देश अध्याँरोमा रहेकोमा गणतन्त्रले देशलाई उज्यालो दिएको बताएका छन् । उनले राजतन्त्रकालमा नागरिकको हैसियत रैती रहेकोमा अहिले गणतन्त्रमा जनता नै मालिक भएको उल्लेख गरे ।
शनिबार दमकमा आयोजित एमालेको विशाल जागरणसभालाई सम्बोधन गर्दै कोशी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका राईले बहुदलीय व्यवस्था स्थापनापछि पनि माओवादीले जनयुद्धको नाममा १० वर्षसम्म विकास निर्माणका काममा नकारात्मक प्रभाव पारेको बताए । उनले गणतन्त्रको १८ वर्षमा खानेपानी, सडक, शौचालय, शिक्षा जस्ता सामाजिक र भौतिक पूर्वाधारका धेरैकाम भएको बताए ।
नेपालको लोकतान्त्रिक आन्दोलनको शीरमाथि दमक रहेको र देशको नेतृत्व दमकले गरेको राईले उल्लेख गरे । दमक एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र भएकाले यसले समग्र देशलाई नै नेतृत्व गरिरहेको उनको भनाइ थियो ।
राईले एमाले अहिले जरा अभियानमा रहेको र सबै कार्यकर्तालाई पार्टीले काम दिएको जानकारी दिए । विकास र समृद्धिको एजेण्डा अघि बढाउन र बलियो राष्ट्रशक्तिको आवश्यकता पूरा गर्न मिसन ०८४ मा एमालेलाई बहुमत दिनुपर्ने धारणा राईले व्यक्त गरे ।