काठमाडौँ । अभिनेता राजेश हमाल बुढानीलकण्ठको नयाँ घरमा सरेका छन् । नयाँ २०८२ को अवसर पारेर उनी सोमबार (आज) पूजा गर्दै नयाँ घरमा सरेका हुन् । यसअघि हमाल कपुरधारास्थित घरमा बस्दै आएका थिए । कपुरधाराको उक्त घर भत्काइएको कारण उनले बुढानीलकण्ठमा नयाँ घर बनाएका हुन् ।
राजेश पहिलो पटक काठमाडौँ आउँदा उनका बुवा चुडाबहादुर हमालले उनलाई कपुरधारास्थित घरमा लगेका थिए । जहाँ राजेशले दसकौँ बिताए । कपुरधाराको त्यो घर राजेशको जीवन र करिअरको उतारचढावको साक्षी समेत हो । हमालको नयाँ घरमा बुढानीलकण्ठस्थित सिद्धार्थ कोलोनीमा रहेको छ । एक रोपनी क्षेत्रफलमा उनले नयाँ घर बनाएका छन् । कपुरधाराको घर भत्काइएपछि उनी बुढानीलकण्ठको नयाँ घर नजिकैको एक घरलाई भाडामा लिएर बसेका थिए ।