१ जेष्ठ २०८३, शुक्रबार 1778843399
Banner

शिक्षक महासङ्घका माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई परियारको खुल्लापत्र

काठमाडौँ : नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले नेपाल शिक्षक महासङ्घको आन्दोलनका माग सम्बोधन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज खुल्लापत्र लेख्दै उहाँले शिक्षकका माग सम्बोधन गर्न आग्रह गर्नुभएको हो । “सरकार किन गम्भीर हुँदैन, के शिक्षकको शालिनतालाई कमजोरीका रूपमा त हेरिएको होइन ?” सहमहामन्त्री परियारले प्रश्न गर्दै खुल्लापत्रमा लेख्नुभएको छ, “यदि सरकारले १–२ दिनभित्र आन्दोलनका माग समाधान नभएमा कांग्रेसले पनि यस विषयलाई गम्भीरतापूर्वक लिनुपर्दछ भनेर मेरो पार्टीसंँग समेत जोडदार माग रहनेछ ।”

महासङ्घले विगत वर्षदेखि चरणबद्ध आन्दोलन गर्ने क्रममा गत चैत्र २० गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ । विगतमा महासङ्घसँग सरकारले पटक–पटक सम्झौता गरेको विषय स्मरण गराउँदै प्रतिनिधिसभा सदस्य परियारले जायज मागमा कांग्रेसको समर्थन रहेकोसमेत खुल्लापत्रमा उल्लेख गर्नुभएको छ । “पार्टीको तर्फबाट अनौपचारिक रूपमा सरोकार भएका मन्त्रीसँग बारम्बार छलफल भएको छ । तथापि आजसम्म कुनै नतिजा नआउनु अत्यन्तै दुःखद् पक्ष हो”, उहाँले भन्नुभएको छ ।