१४ श्रावण २०८३, बिहिबार 1785450966
Banner

संसद् अधिवेशन आह्वान गर्न सिफारिस

काठमाडौँ- सरकारले सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को हिजो बसेको बैठकले वर्षे अधिवेशन यही वैशाख १२ गते दिउँसो १ बजे बस्ने गरी आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जानकारी दिनुभयो ।

सङ्घीय संसद्मा विचाराधीन अवस्थामा रहेको विद्यालय शिक्षा विधेयक यथासक्य पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन आह्वान गरिएको सरकारले जनाएको छ ।

सरकारको तर्फबाट सो विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गर्ने बैठकले निर्णय गरेको छ । विभिन्न माग राखेर दुई सातादेखि शिक्षकले राजधानीमा प्रदर्शन गर्दै आएका छन् । उनीहरुको माग सम्बोधन गर्ने उद्देश्यले सरकारले सङ्घीय संसद्को बैठक आह्वान गरेको स्पष्ट पारेको छ ।

यसैबीच नेपाल शिक्षक महासंघको आह्वानमा भइरहेको प्रदर्शनप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हाल विद्यार्थी भर्नाको समय एसइईको उत्तरपुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षा समेतको समय भएको अवस्था रहेकोले विरोध र प्रदर्शनका कार्यक्रम स्थगन गरी अभिभावक एवं विद्यार्थीको हितलाई मध्यनजर गरी सम्पूर्ण शिक्षकहरुलाई आ-आफ्नो कार्यथलोमा फर्किन अनुरोध गर्ने निर्णय मन्त्रिपरिषद बैठकले गरेको छ ।