काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले निषेधित क्षेत्र तोड्ने बताएपछि गृह मन्त्रालयले त्यस्तो गरे कारबाही गर्ने चेतावनी दिएको छ । आज एक विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले निषेधित क्षेत्र तोडे कानुन बमोजिम कारबाही गर्ने जनाएको हो । गृह मन्त्रालयका सहसचिव, प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रचलित कानुन बमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिहरू प्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानुन बमोजिम कारबाही हुने ब्यहोरा सूचित गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ‘समाजमा हिंसा फैलाउने कुनै पनि अराजक , उत्तेजक र गैर कानुनी क्रियाकलापमा संलग्न नहुन समेत गृह मन्त्रालय सबैमा अनुरोध गर्दछ । ’ लोकतान्त्रिक व्यवस्था नै फालेर राजसंस्था र हिन्दु राष्ट्र पुनः स्थापना गर्न आन्दोलन गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई निषेधित क्षेत्र तोड्ने ठाडो चुनौती दिएको छ। बिहीबारको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट निर्णय नै गरेर राप्रपाले वैशाख ७ गते निषेधित क्षेत्र तोड्ने भनेको छ। राप्रपाको उक्त चुनौतीपछि गृह मन्त्रालयले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेको हो ।
