२७ जेष्ठ २०८३, बुधबार 1781097758
विश्व

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण: ९ जनाको मृत्यु

युक्रेनको राज्य आपत्कालीन सेवाले बिहीबार बिहान किएभमा भएको ‘विशाल’ क्षेप्यास्त्र आक्रमणमा कम्तीमा नौ जनाको मृत्यु भएको र ६० भन्दा बढी घाइते भएको बताएको छ । किएभले यो आक्रमणलाई तीन वर्षको युद्धमा राजधानीमा भएको सबैभन्दा घातक आक्रमणमध्ये एक भएको बताएको छ । युक्रेनी अधिकारीहरूले मिसाइल आक्रमणको चेतावनी जारी गरेको र एएफपीका पत्रकारहरूले राजधानीभरि विस्फोटको आवाज सुनेको बताएका छन्

Ukrainian rescuers operate at the site of a Russian missile attack in Kyiv on April 24, 2025, amid the Russian invasion of Ukraine. A “massive” Russian missile attack on Kyiv on April 24, 2025, killed at least nine and wounded dozens in one of the deadliest strikes on the Ukrainian capital since Moscow launched its invasion more than three years ago. (Photo by Genya SAVILOV / AFP)

अस्पतालमा भर्ना भएका ४२ जना मध्ये छ जना बालबालिका थिए । आक्रमणले राजधानीका पाँच जिल्लामा क्षति पुगेको छ भने प्रशासनिक भवनहरूमा आगलागीसमेत भएको छ । राज्य आपत्कालीन सेवाका अनुसार आक्रमणले आवासीय भवनहरूलाई क्षति पु¥याउँदा भग्नावशेषमुनि परेका मानिसहरूको खोजी जारी छ । यस अघि किएभमा अप्रिलको सुरुमा मिसाइल प्रहार हुँदा कम्तीमा तीन जना घाइते भएका थिए ।

सन् २०२२ फेब्रुअरीमा रुसले आफ्नो पूर्ण आक्रमण सुरु गरेदेखि यो छिटपुट आक्रमणको लक्ष्य बनेको छ । युक्रेनको पूर्वमा खार्किभ सहरमा बिहीबार बिहान सातवटा क्षेप्यास्त्र प्रहार भएको सहरका मेयर इगोर टेरेखोभले बताउनुभयो । पछि उहाँले यो ‘एकै रातमा दोस्रो पटक क्रुज क्षेप्यास्त्र आक्रमणमा परेको’ बताउनुभयो । “हालैको एउटा आक्रमणमा सघन जनसङ्ख्या भएको आवासीय क्षेत्रमा प्रहार भएको छ…त्यहाँ दुई जना घाइते भएका थिए । शत्रु आक्रमण स्थलहरूको निरीक्षण भइरहेको छ”, टेरेखोभले सहरका बासिन्दाहरूलाई ‘सावधान रहन’ आग्रह गर्दै भन्नुभयो । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका शीर्ष सहयोगी एन्ड्री यरमाकले रुसले किएभ, खार्किभ र अन्य सहरहरूमा ‘अहिले मिसाइल र ड्रोनद्वारा’ आक्रमण गरिरहेको बताउनुभयो ।