काठमाडौं, १७ वैशाख । तराई–मधेश केन्द्रित दुई दलबीच आज पार्टी एकीकरण हुँदैछ । जनमत पार्टी र नागरिक उन्मुक्ति बीच आज पार्टी एकीकरण हुन लागेको हो ।
नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजेदेखि घोषणा सभा सुरू हुने जनाइएको छ । जसअनुसार उन्मुक्तिका संरक्षक रेशम चौधरी एकतापछिको पार्टीमा पनि संरक्षक रहनेछन् भने सिके राउत अध्यक्ष र रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने गरी सहमति भइसकेको छ । साथै, उन्मुक्तिको चुनाव चिन्ह ढकियालाई स्विकार गर्दै पार्टीको नाम भने नागरिक जनमत पार्टी राखिने भएको छ । एकतासँगै यो पार्टी तराई–मधेश केन्द्रित दलको सबैभन्दा ठूलो पार्टी हुनेछ ।
सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्सीय केन्द्रीय पदाधिकारी, ५१ सदस्सीय केन्द्रीय कार्यसमिति र दुवैतर्फका गरी ३५०–३५० गरी कम्तिमा ७ सय केन्द्रीय सदस्य रहने भएका छन् ।
दुई पार्टीबीच एकता भएपछि प्रतिनिधि सभामा १० सिटसहित छैटौँ ठूलो दल बन्नेछ भने १० सिट नै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को समान हैसियतमा रहनेछ ।