काठमाडौँ । अदालतले ऐन महरमाथि मुद्दा चलाउन आदेश दिए पनि प्रधानमन्त्री केपी ओलीको दबाबमा बचाइरहेको आरोप रस्मिला धामीले लगाएकी छन् । बुधबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी धामीले सरकारी वकिल कार्यालय र प्रहरी प्रशासनले उन्मुक्ति दिने तयारी गरेकोसमेत आरोप लगाइन् ।
२०८१ माघ ९ गते उच्च अदालत पाटनले आफ्नो पक्षमा फैसला दिए पनि महरको पक्षमा उच्च राजनीतिक संरक्षण तथा दबाबमा कार्यान्वयन नभएको पीडित धामीले गुनासो गरिन् । मुद्दा अगाडि बढाई दोषीलाई कानुनी कारबाही गराउन आफूले रिट दायर गरेपछि र अदालतले न्यायको आशा जगाए पनि ऐन महर खुलेआम हिँडिरहेकोप्रति रोष व्यक्त गरिन् ।
फैसला भएको ४ महिना बितिसक्दा पनि महरलाई पक्राउ नगरिएको बताउँदै धामीले भनिन्, ‘ऐन महरलाई बाहिरैबाट अनुसन्धान गर्ने भन्दै सरकारी प्रशासनले पहुँचको आधारमा आलटाल मात्रै गरेको छैन, गैरजिम्मेवार जवाफ पनि दिने गरिरहेको छ । मैलै जघन्य अपराधको विषयमा न्याय खोजिरहेको छु, के यस्तो अपराधमा पनि बाहिरै राखेर अनुसन्धान गर्न मिल्छ ?’


