१ जेष्ठ २०८३, शुक्रबार 1778892886
समाचार

गलत निर्णय गर्ने छुट कांग्रेसभित्र कसैलाई छैन : गगन थापा

स्याङ्जा : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस राष्ट्रिय शक्ति भएकाले गलत काम र गलत निर्णय गर्ने छुट पार्टीभित्र कसैलाई नभएको धारणा राखेका छन्।

नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं १ को दोस्रो क्षेत्रीय सम्मेलनलाई शनिबार पुतलीबजारमा सम्बोधन गर्दै उनले कांग्रेस नेतृत्वको सरकारले जनताका निराशा आशामा बदल्दै सकारात्मक परिवर्तनका पक्षमा काम गरिरहेको बताए।

आगामी निर्वाचनभन्दा पहिले नेपाली कांग्रेसको महाधिवेशन गर्नुपर्नेमा जोड दिँदै थापाले कांग्रेस एक्लै आगामी निर्वाचनमा जानेगरी जनताका पक्षमा काम गर्दै पूर्वाधार निर्माण गर्नुपर्ने धारणा राखे। ‘वर्तमान अवस्थामा नागरिकमा निराशा बढिरहेकाले दुई ठूला दलबीच सहमति भई सरकार गठन भएको छ’, उनले भने, ‘वर्तमान सरकार जनता केन्द्रित भई काम गरिरहेको छ।’

‘पार्टीको महाधिवेशन निर्धारित समय सीमाभित्र गर्नुपर्छ, धेरै पछाडि लैजानुहुँदैन’, उनले भने, ‘२०८४ को निर्वाचनभन्दा पछाडि अधिवेशन गर्न हुँदैन, २०८३ मंसिरमा पार्टीको अधिवेशन गर्नुको विकल्प छैन।’ कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अब्दुल सतार, सरस्वती अर्याल तिवारी, गण्डकी प्रदेश उपसभापति कल्पना तिवारी, नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापालगायतले आ–आफ्नो धारणा राखेका थिए।