११ जेष्ठ २०८३, सोमबार 1779696192
समाचार

न्यूयोर्कमा सम्पन्न नेपाल डे परेडमा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाको भव्य सहभागिता

न्यूयोर्क । न्यूयोर्कमा आयोजित नेपाल डे परेड २०२५ मा अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटी अमेरिकाले भव्य सहभागिता जनाएको छ। सेफ सोसाइटीका अमेरिका संयोजक लक्ष्मण सापकोटाका अनुसार परेडमा सोसाइटीको उपस्थिति अत्यन्तै प्रभावकारी तथा गौरवमय रहेको थियो।

गैर-आवासीय नेपाली संघ (एनआरएनए), न्यूयोर्क शाखाको आयोजनामा प्रत्येक वर्षजस्तै यस वर्ष पनि नेपाली समुदायको सांस्कृतिक एकता, मौलिकता र राष्ट्रिय पहिचान झल्काउने उद्देश्यसहित परेडको आयोजना गरिएको हो। आयोजकका अनुसार यसपटकको परेड सबैको समावेशी सहभागिता, अनुशासन र सांस्कृतिक विविधताका कारण झनै प्रभावकारी र सफल रह्यो।

परेडमा नेपाली झाँकी, भेषभूषा, संस्कृति, नृत्य र परम्परागत प्रस्तुतिहरूको माध्यमबाट नेपाली समुदायको गौरवलाई उजागर गरिएको थियो।

कार्यक्रममा क्यालिफोर्नियाबाट विशेष सहभागीका रूपमा मुक्तिनाथ मन्दिरका संस्थापक अध्यक्ष तथा मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पान्डे र युवा समाजसेवी, व्यवसायी तथा चलचित्र निर्माता प्रीन्श युबराज कार्कीको उल्लेखनीय उपस्थिति रहेको थियो। सापकोटाका अनुसार उनीहरूले कार्यक्रमको तयारीदेखि सम्पन्नतासम्म महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

यसै क्रममा काभ्रे सेवा समाजका समाजसेवी उद्दब प्रसाद हुमागाईले मुक्तिनाथ धामको ब्यानर बोकेर न्यूयोर्कको परेडमा सहभागिता जनाउन पाउँदा आफूलाई अत्यन्तै भाग्यमानी महसुस भएको बताए।

समाजसेवी पाण्डे र कार्कीले स्वस्फूर्त रुपमा गरेको सहयोगप्रति न्यूयोर्कवासी नेपाली समुदायले हार्दिक धन्यवाद व्यक्त गरेका छन्।

विगत ४० वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएका पाण्डेले मदरल्याण्ड नेपाल मार्फत नेपाल र अमेरिकामा सामाजिक कार्य गर्दै आएका छन्। साथै, उनले २०१२ मा स्यान फ्रान्सिस्कोमा नेपाल डे परेडको आयोजना गरिसकेका छन्। कार्की भने विगत एक दशकदेखि विभिन्न व्यवसायमा सक्रिय रहँदै आएका एक सफल युवा उद्यमी हुन्।