१४ श्रावण २०८३, बिहिबार 1785413088
समाचार

ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ताप्लेजुङ दुर्घटनामा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने बताएका छन् ।

ताप्लेजुङको पाथिभरा जाने क्रममा गत वैशाख ८ गते विद्युत्को तारमा अल्झिएर बोलेरो दुर्घटना भएपछि मन्त्री खड्काद्धारा बनाएको दुर्घटनाबारे छानबिन समितिको प्रतिवेदन आज बुझ्दै उनले विद्युत् सेवा वितरणमा लापरबाही गर्ने कर्मचारीलाई कारबाही गरिने बताएका हुन्। उनले विद्युत् सुरक्षा नीतिलाई सबैभन्दा उच्च प्राथमिकतामा राख्न निर्देशन दिए।

उक्त दुर्घटनामा परेर चार जनाको ज्यान जानुका साथै दुई जना घाइते भएका थिए। ऊर्जामन्त्री खड्काले उक्त घटना राज्यका लागि गम्भीर चुनौतीका रूपमा देखिएको बताए। मन्त्री खड्काले उक्त घटनाको अध्ययन गर्न विद्युत् विकास विभागका सुपरिडेन्टेन्ट इन्जिनियर नुतप्रकाश शर्माको संयोजकत्वमा चार सदस्यीय छानविन समिति गठन गरेका थिए।

प्रतिवेदन बुझ्दै मन्त्री खड्काले घटनाबाट गम्भीर शिक्षा लिँदै आगामी दिनमा नीति र व्यवहार दुवैमा परिवर्तन गर्नुपर्ने बताए। उनले दुर्घटनामा ज्यान गुमाउने परिवारका साथै घाइतेलाई स्वास्थ्य उपचार र उचित क्षतिपूर्तिका लागि पहल गर्नसमेत विद्युत् प्राधिकरणलाई निर्देशन दिए।