मकवानपुर- बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२-८३ का लागि रूपान्तरणमुखी प्राथमिकता समेटिएको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
बुधबारको प्रदेश सभा बैठकमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रमले संघीयताको सबलीकरणदेखि समावेशी विकाससम्मका कार्यक्रम अघि सारेको छ ।
“समृद्ध बागमती, सुखी प्रदेशबासी”को आधार तय गर्ने दृढता सहित अघि सारिएको नीति तथा कार्यक्रमममा संघीयता सबलीकरण तथा तहगत समन्वय, प्रदेश र स्थानीय तहबीच समन्वय, साझा अधिकारको प्रभावकारी कार्यान्वयनमा जोड दिइएको छ ।
प्रदेश सरकारले पूर्वाधार विकास र लगानी, एकद्वार प्रणालीमार्फत भौतिक पूर्वाधार निर्माण, साना तथा बहुवर्षीय आयोजना समयमै सम्पन्न गर्ने योजना अघि सारेको छ । त्यस्तै, एक वडा, एक उद्यम र एक स्थानीय तह, एक प्रमुख उद्योग अवधारणामार्फत स्थानीय स्रोतको अधिकतम उपयोग गरी रोजगारी सिर्जना गरिने कार्यक्रममा उल्लेख छ ।

व्यावसायिक कृषि प्रणाली विकास, न्यूनतम समर्थन मूल्य निर्धारण, आधुनिक सिँचाइ तथा किसान अनुदानलाई प्राथमिकता दिइने जनाइएको छ । १ सय १९ बुद्धामा समेटिएको नीति तथा कार्यक्रममा गुणस्तरीय र प्रविधिमैत्री शिक्षा, सबै नीतिमा स्वास्थ्य नीति’ कार्यक्रमको कार्यान्वयनमा निरन्तरता, मातृ तथा नवजात स्वास्थ्य, मानसिक स्वास्थ्य सेवा विस्तार तथा विशेषज्ञ सेवा प्रवद्र्धन सरकारको मुख्य योजनाका रुपमा रहेका छन् ।
एकीकृत जलाधार संरक्षण, जलवायु अनुकूलन कार्यक्रम तथा विपद् जोखिममा रहेका संरचनाको पूनर्निर्माण गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । युवालाई स्वदेशमै रोजगार, अपांगमैत्री पूर्वाधार र लोपोन्मुख समुदायको संरक्षणमा विशेष जोड दिइने उल्लेख छ ।
डिजिटल ट्रान्सफर्मेसन, सूचना प्रविधिको उच्चतम प्रयोग, पारदर्शिता र भ्रष्टाचारविरोधी रणनीति कार्यान्वयन गरिने सरकारले नीति लिएको छ । बागमतीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न धार्मिक, साहसिक र आरोग्य पर्यटन कार्यक्रम ल्याइने कार्यक्रममा उल्ल्लेख छ ।
हेटौंडाको गौरीटार र चितवनको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालामा खेलकुद पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिइने, एक निर्वाचन क्षेत्र एक बहुउद्देश्यीय खेलमैदान कार्यक्रम सञ्चालन, नयाँ प्रविधिमा आधारित सिचाई प्रणालीको विकासलाई आगामी वर्ष सरकारले निरन्तरता दिने भएको छ ।
सामुदायिक विद्यालयहरुमा आधुनिक प्रविधिमैत्री र अनुसन्धानमा आधारित ‘भिम बहादुर तामाङ शैक्षिक गुणस्तर सुधार कार्यक्रम’ सञ्चालन गरिने उल्लेख छ । सिन्धुली, मकवानपुर र चितवन जिल्लामा पर्ने मदनभण्डारी राजमार्ग र पूर्वपश्चिम राजमार्ग क्षेत्रलाई औद्योगिक क्षेत्रको रुपमा विकास गरिने, प्रदेश सरकारले विपद् जोखिम न्युनिकरणको लागि विपद्को पूर्व तयारीमा जोड दिने भएको छ ।
प्रदेशको आपतकालिन कार्य सञ्चालन केन्द्रलाई प्रविधिमैत्री बनाइने प्रदेश प्रमुख देवकोटाले बताउनुभयो । प्रदेश गोदामघरहरुमा उद्धार तथा राहत सामग्रीको उचित व्यवस्थापन गर्नुको साथै गोताखोरहरुलाई आवश्यक उपकरणको प्रबन्ध समेत गरिने भएको छ ।
त्यसैगरी प्रहरी समायोजनको लागि अन्य प्रदेशहरुसंगको समन्वय र सहकार्यमा संघीय सरकारसंग पहल गरिने समेत उल्लेख गरिएको छ । निर्णय प्रक्रिया र अनुगमन तथा मुल्याङकन प्रणालीमा एआई र सुचना प्रविधिको उच्चतम प्रयोग गरिने भएको छ ।
प्रदेशलाई चाहिने प्रणालीहरुको चरणबद्ध पहिचान, विकास तथा आन्तरिकीकरण गर्दै प्रशासनिक सुधार एवम् गतिशीलता प्रदान गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।


