काठमाडाैं | भारत सरकारको आर्थिक सहयोगमा अछाम जिल्लाको साँफेबगर नगरपालिकास्थित श्री महेन्द्र माध्यमिक विद्यालयको लागि निर्माण गरिएको नयाँ विद्यालय भवन औपचारिक रूपमा विद्यालय व्यवस्थापनलाई हस्तान्तरण गरिएको छ।
जिल्ला समन्वय समिति, अछामका प्रमुख ललित बहादुर कुँवर, साँफेबगर नगरपालिकाका मेयर राजेन्द्र बहादुर कुँवर र नेपालस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रूपमा विद्यालयको नयाँ भवन हस्तान्तरण गरेका हुन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, शिक्षक–शिक्षिका, विद्यार्थी र अभिभावकहरूको उल्लेखनीय उपस्थिति थियो।

भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रु. ३ करोड २४ लाखको लागतमा निर्माण गरिएको उक्त भवनमा कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्ष, प्रशासन शाखा, पुस्तकालय, प्रधानाध्यापक कक्ष तथा छात्र–छात्रा दुवैका लागि शौचालय सुविधासमेत उपलब्ध छन्। साथै, अनुदानमार्फत आवश्यक फर्निचर र कम्प्युटरसमेत विद्यालयलाई उपलब्ध गराइएको छ। सन् १९६० मा स्थापना भई अहिले नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन गरिँदै आएको विद्यालयमा हाल ४०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जसमा ६५ प्रतिशत छात्राहरू छन्।

नयाँ पूर्वाधारले विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षामा पहुँच सहज बनाउने विश्वास व्यक्त गर्दै सरोकारवालाहरूले भारत सरकारप्रति आभार व्यक्त गरे। विद्यालयका पदाधिकारीहरूले नयाँ भवनले सिकाइ वातावरण सुधार्न मद्दत गर्ने र यस क्षेत्रको समग्र शैक्षिक विकासमा टेवा पुग्ने बताएका छन्।
सन् २००३ यता भारत सरकारले नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइसकेको छ, जसमध्ये ४९५ परियोजनाहरू सम्पन्न भइसकेका छन्। सुदूरपश्चिम प्रदेशमा मात्र ४३ परियोजनाहरू सञ्चालनमा छन्। साथै, भारतले नेपालका विभिन्न स्वास्थ्य र शैक्षिक संस्थाहरुलाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस पनि उपहारस्वरूप प्रदान गरिसकेको छ।

अछाममा मात्रै भारतबाट ६ वटा एम्बुलेन्स उपहारस्वरूप प्राप्त भइसकेका छन्।


