२८ भदौ २०८३, आइतबार 1789282873
समाचार

आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय छुवाछुत उन्मूलन दिवसका अवसरमा बुधबार जातीय विभेदविरुद्ध महत्त्वपूर्ण सन्देश दिएका छन्।

उनले बुधबार बिहान सामाजिक सञ्जालमार्फत आमाले जात होइन, नवजात जन्माउने उल्लेख गर्दै मानवताभन्दा माथि कुनै जात नहुने बताएका हुन्। उनले लेखेका छन्, ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो।’

उनले अगाडि लेखेका छन्, ‘मानवताभन्दा माथि कुनै जात छैन। रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्यांकन गरिने समाज बनाउनु छ। समभाव र समानताको विकास गरौँ, जातीय छुवाछुत उन्मूलन दिवसको सबैलाई शुभकामना!’