१ जेष्ठ २०८३, शुक्रबार 1778904490
Banner

अन्वेषण सुरु गर्दा समर्थन र विरोधका आवाज थिए, ग्यास फेला परेको खबरले खुसी छु : प्रधानमन्त्री ओली

काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखमा भूमिगत ग्यासको स्रोत फेला परेकामा खुसी व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा आफूले प्रधानमन्त्री हुँदादेखि दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण सुरु गराएका दिनहरू सम्झिएको उल्लेख गर्नुभएको छ।

‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु, समर्थन र विरोध-आवाज थरिथरिका थिए’, प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभएको छ, ‘११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ, यो खुसीको समाचार हो।’

यसअघि ओली नेतृत्वको सरकारले दैलेखसहितका केही पहाडी जिल्लामा पेट्रोलियम अन्वेषणका लागि चिनियाँ सहयोगमा भौगर्भिक परीक्षण सुरु गरेको थियो।

२०७२ चैतमा प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा नेपाल र चीनबिच पेट्रोलियम पदार्थको अन्वेषणमा सघाउने द्विपक्षीय समझदारी (जीटुजी) मा हस्ताक्षर भएपछि २०७५ माघमा दैलेखको पेट्रोलियम पदार्थको विस्तृत अन्वेषणको जिम्मा चीनलाई दिन स्वीकृत भएको थियो ।