२७ भदौ २०८३, शनिबार 1789268036
कला/साहित्य

नायक अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध अदालतमा मुद्दा दायर

काठमाडौँ  नायक अनमोल केसीसहित चलचित्र ‘फर्की फर्की’ टिमविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ। कलाकार नरेन्द्रबहादुर श्रेष्ठले आफ्नो मोबाइल नम्बर चलचित्रमा दुरुपयोग गरिएको भन्दै मुद्दा हालेका हुन्।

श्रेष्ठका अनुसार चलचित्रको एक संवादमा अनमोल केसीले दिएको मोबाइल नम्बर उनी स्वयंको भएको र त्यसपछि दैनिक सयौँ फोन आउँदा मानसिक तनाव खेप्नुपरेको उल्लेख गरेका छन्। “फिल्म रिलिज भएपछि मेरो नम्बर अनमोल केसीको सम्पर्क ठानेर पटक–पटक फोन आइरहेका छन्। अन्ततः मोबाइल स्वीच अफ गरेर बस्नुपरेको अवस्था छ,” श्रेष्ठले रिट निवेदनमा भनेका छन्।

उनले चलचित्र टिमसँग क्षतिपूर्तिको माग पनि गरेका छन्। विवादित संवादमा, नायिका जसिता गुरुङले अनमोलसँग नम्बर माग्ने क्रममा उनले दिएको नम्बर श्रेष्ठको परेको जनाइएको छ। रिटमा अभिनेता केसी, निर्देशक सुयोग गुरुङ, चलचित्र जाँच समिति, निर्माता रोहित अधिकारी लगायतलाई विपक्षी बनाइएको छ ।