काठमाडौं : जनता समाजवादी पार्टी नेपाल (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ ।
ओली नेतृत्वको सरकार पूर्ण रूपमा असफल भइसकेको निष्कर्ष निकाल्दै जसपा कार्यकारिणी समितिको बैठकले समथन फिर्ता लिने तयारी गरेको हो । जसपाका प्रवक्ता मनीष सुमनले सरकारलाई दिएको समर्थनबारे पुनर्विचार गरी निर्णय लिन पार्टीको संघीय संसदीय दललाई निर्देश गरेको बताए । शनिबार र आइतबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले यस्तो निर्देश गरेको हो ।
जसपा अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको कार्यकारिणी समितिको बैठकले दिएको निर्देशन उनकै अध्यक्षतामा बस्ने संसदीय दलको बैठकले कार्यान्वयन गर्नुपर्ने हुन्छ ।
‘केपी शर्मा ओली नेतृत्वमा रहेको वर्तमान सरकार देशमा भ्रष्टाचार नियन्त्रण, सुशासनको प्रत्याभूति, संविधान संशोधन, आर्थिक अवस्थामा सुधारलगायतका कार्यमा पूर्णतः असफल रहेकाले पार्टीद्वारा वर्तमान सरकारलाई विगतमा दिइएको समर्थनबारे पुनः विचार गरी निर्णय गर्न जसपा नेपाल संघीय संसदीय दललाई निर्देश गर्दछ,’ कार्यकारिणी समितिको बैठकले गरेको निर्णयमा उल्लेख छ ।
