२७ भदौ २०८३, शनिबार 1789276548
समाचार

भारतको सहयोगमा इरानबाट उद्धार गरिएका दुई नेपाली दिल्ली आइपुगे

काठमाडौं : भारत सरकारको सहयोगमा इरानबाट दुई जना नेपाली आज नयाँ दिल्ली आइपुगेका छन्। इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपालीहरुमध्ये गणेशप्रसाद पोखरेल र सुमन गैरेलाई इरानस्थित भारतीय दूतावासद्वारा उद्धार गरेर नयाँ दिल्ली ल्याइएको हो। 

इरानमा रहेका १६ जना नेपालीमध्ये पाँच जना जेलमा रहेकाले बाँकी ११ जनाको उद्धार गर्ने तयारी भएको थियो। सोही बमोजिम उनीहरू भारतले उद्धार उडान गरिरहेको इरानको मसाद सहरमा पुगेका थिए। भारतीय नागरिकसँगै त्यहाँ पुगेका ११ जना मध्ये ९ जनाको इरानी कानुन अनुसारको आवश्यक कागजात नभएका कारण उनीहरूले उडान अनुमति नपाएको जानकारी नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ। 

अन्य ९ जना स्वदेश फर्कन चाहने अन्य भारतीय नागरिकहरुसँगै मसादको एक होटलमा सुरक्षित रहेका र उनीहरुलाई भारतीय नागरिकसँगै उद्धार गरिने इरानस्थित भारतीय दूतावासले जनाएको छ। इजरायल इरान युद्धका कारण इरानमा समस्यामा परेका १६ जना नेपालीलाई पनि आफ्ना नागरिकको उद्धारका क्रममा ल्याइदिन परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारत सरकार समक्ष आग्रह गरेकी थिइन्।

परराष्ट्र मन्त्रालयका अनुसार मसादमा रहेका नेपाली र इरानी जेलमा रहेकाहरुको उद्धार गरी स्वदेश ल्याउनका लागि आवश्यक कागजातहरुको व्यवस्था गर्ने काम भइरहेको छ। यसैगरी हाल हवाई मार्ग बन्द रहेको अवस्थामा सुरक्षित स्थान वा सीमावर्ती मुलुकमा जान चाहने नेपालीहरूलाई अनलाइन भिसा उपलब्ध गराउनेलगायत काममा सहजीकरण गरिदिनका लागि खाडीस्थित सबै नेपाली नियोगहरूलाई निर्देशन दिइएको मन्त्री राणाको भनाइ छ।