काठमाडौँ । नेपाली कांग्रेसका सांसद हृदयराम थानीले राजनीतिक हस्तक्षेपले नेपाल प्रहरीको ‘चेन अफ कमाण्ड’ प्रभावित भएकाे बताएका छन् । बुधबार सिंहदरबारमा “नेपाल प्रहरीसम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल गर्न बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
उनले राजनीतिक हस्तक्षेपकाबिच कमाण्ड एन्ड कन्ट्रोलमा चल्ने प्रहरीले कसरी काम गरिरहेको होला भन्नेमा गृहमन्त्रीसहित सबैको ध्यान जानुपर्नेमा जोड दिए । विगतमा प्रहरी नेतृत्वमा गरिएका विवादास्पद निर्णयहरूको उल्लेख गर्दै ती कदमले प्रहरी सङ्गठनको ‘चेन अफ कमाण्ड’लाई नै कमजोर बनाएको उनले बताए ।
उनले ३२ वर्षे सेवा अवधिमा ३० वर्ष बनाएर आइजिपीलाई हटाउने काम गरेकोदेखि ३६ दिनमै प्रहरी महानिरीक्षकलाई अन्यत्र सरुवा गरी अदालतबाट जितेर आइ दुई पटक आइजिपी बनेको इतिहास समेत रहेको स्मरण गराए । उनले कनिष्ठलाई एक महिना अघि एआईजी बनाएर आइजिपी बनाएकोदेखि पहिलो नम्बरकोलाई छाडेर तेस्रो र दोस्रो नम्बरकोलाई आइजिपी बनाउँदै अदालतसम्म पुर्याएको इतिहास समेत रहेको जिकिर गरे ।


