काठमाडौं । नेपाली कांग्रेसका सांसद श्यामप्रसाद घिमिरेले निजी विद्यालयलाई निषेध गरेर जान नहुने बताएका छन् । बिहीबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।
‘निजीलाई निषेध गर्न सकिँदैन, १५ वर्षमा पनि सकिँदैन,’ घिमिरेले भने, ‘मुआब्जा दिन सक्दैनौं । एक तिहाई विद्यार्थीले नि:शुल्क भार थेगेको छ ।’ तर, निजी विद्यालयको नियमन भने प्रभावकारी रुपमा हुुनपर्ने बताएका छन् । ‘निजीलाई निषेध गरेर जान सकिँदैन । नियमनको प्रभावकारी व्यवस्था गर्नुपर्छ ।
शिक्षक कर्मचारीको व्यवस्था गर्नुपर्छ,’ घिमिरेले भने, ‘नयाँ निजी खोल्न दिनुपर्छ । निषेध गर्न हुँदैन । सिन्डिकेटको बाटोमा जान हुँदैन ।’ निजी विद्यालय बन्द गर्दा विदेश जाने विद्यार्थी बढ्ने उनको तर्क छ । ‘निजी बन्द गर्ने हो भने विदेश जाने विद्यार्थी बढ्छन् । व्यवस्थित गरौं, नियमन गरौं,’ उनले भने ।


