४ भदौ २०८३, बिहिबार 1787228435
Banner

सर्बिया, रोमानिया र कोरिया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

असार १२ गते । सर्बिया, रोमानिया र कोरिया रोजगारीका लागि पठाइ दिने भन्दै रकम लिएर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रुकुम पश्चिम त्रिवेणी गापा १ घर भई हाल काठमाडौँ तार्केश्वर नपा ११ बस्ने ४० वर्षीय जगदीश महर रहेका छन् भने उनले दक्षिण कोरिया पठाइ दिने भन्दै १७ लाख ८५ हजार ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । 

त्यसै गरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बुलिङटार गापा ४ स्थायी घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा नपा ४ बस्ने ३७ वर्षीय डिल बहादुर आले मगरले रोजगारीका लागि सर्बिया पठाइ दिने भन्दै पाँच लाख १० हजार ठगी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

त्यस्तै गरी सिन्धुली घ्याङलेख गापा ६ स्थायी घर भई हाल काठमाडौँ २६ बस्दै आएका ३१ वर्षीय प्रेम कुमार श्रेष्ठले रोमानिया रोजगारीका लागि पठाइ दिनेभन्दै छ लाख ५० हजार ठगी गरेपछि उनलाई पक्राउ गरी कारबाही सुरु गरिएको प्रहरीले जनाएको छ । 

उनीहरूले बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी विदेश नपठाई सम्पर्क विहीन हुने गरेका थिए । 

उनीहरूको थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।