२८ असार २०८२, शनिबार 1752347879
समाचार

काठमाडौं केन्द्रीत निर्णायक आन्दोलनको आन्तरिक तयारीमा सुकुम्बासी संघ

काठमाडौं, २१ असार । आम जनता पार्टी (आजपा) निकटको आम सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघले सुकुम्बासी बस्तीमा खानेपानी, निशुल्क बिजुली एवं लालपुर्जाको माग सहित निर्णायक आन्दोलनको तयारीमा जुटेको छ ।

सुकुम्बासी संघका पदाधिकारीहरु काठमाडौं स्थित बिभिन्न सुकुम्बासी बस्तीमा पुगेर अन्तरक्रिया गरेका छन् । सुकुम्बासी बस्तीमा पुगेर त्यहाँको वास्तविक समस्याको पहिचार र समाधानको बारेमा छलफल गर्दै त्यसका लागि अब निर्णायक आन्दोलन गर्नुपर्ने निष्कर्षमा पुगेका छन् ।

सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष कालबहादुर विक, उपाध्यक्ष अमर लिम्बु, महासचिव एमडी सतार सहितका टोली बल्खु सहित सुकुम्बासी बस्तीमा पुगेर छलफल गरेका छन् । सुकुम्बासी बस्तीका अमर बर्देवा, गम्भिर मोक्तान, सुनिता परियार लगायतकाले सुकुम्बासी बस्तीमा शुद्धखानेपानी, बिजुली, लालपुर्जा सहितको समस्या समाधानका लागि आन्दोलनको बिकल्प नभएको बताएका छन् ।

सरकार आफ्‌नो दायित्व पुरा गर्नबाट भागेर हिडेको र सुकुम्बासीहरुको समस्या समाधानका लागि चासो नदिएको गुनासो गर्दै उनीहरुले काठमाडौंमा निर्णाय आन्दोलनको बिकल्प नभएको निष्कर्षमा पुगेका छन् ।

खानेपानीका लागि संघले काठमाडौं खानेपानी उपत्यका प्राधिकरणमा ध्यानाकर्षणपत्र बुझाइसकेको र हालै काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण समेत गराइसकेको संघका अध्यक्ष विकले जनाएका छन् ।

संघीय सरकार, काठमाडौं महानगरपलिकाले समेत आफूहरुको न्यायोचित माग सम्बोधनमा ढिलाई गरेको बताउदै संघका अध्यक्ष विकले काठमाडौं केन्द्रीत आन्दोलनलाई निर्णायक बनाउँन आफूहरु जुटेको बताए । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आफूहरुको माग सम्बोधनमा ढिलाई गरेकाले अब आफूहरु काठमाडौं केन्द्रीत निर्णाय आन्दोलन गर्ने उनले जनाएका छन् ।