बागमती, २३ असार । बागमती प्रदेश सभाको बैठक आज बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा बागमती प्रदेश सरकारद्वारा प्रस्तुत आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल जारी राख्ने कार्यसूची छ ।
यही असार १ गते बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी आव २०८२/८३ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रदेश सभा समक्ष प्रस्ताव गरेका थिए । बजेटमाथि असार २० गतेदेखि प्रदेश सभा बैठकमा छलफल जारी छ ।
हिजो बसेको प्रदेश सभा बैठकमा २३ जना प्रदेशसभा सदस्यहरुले सरकारद्वारा प्रस्तुत बजेटमाथि आफ्ना धारणा राखेका थिए । प्रदेश सभा सचिवालयका सचिव रामकुमार पौडेलका अनुसार बोल्न बाँकी प्रदेश सभा सदस्यहरुले आज बोल्ने कार्यसूची छ ।
बजेट वक्तव्यमाथि छलफल गरेर विनियोजन विधेयक पेस गरेपनि प्रतिपक्षी दलले बजेटको पूरक प्रस्ताव माग गरेपछि स्थगित भएको थियो । शनिबार बिहानै दलहरुबीच छलफल गरेपनि सहमति जुट्न नसकेपछि अन्ततः सरकारले शनिबार साँझ प्रदेशसभामा बजेटको पूरक प्रस्ताव दर्ता गराएको थियो ।
यसैबीच, नेपाली कांग्रेस संसदीय दलले आफ्ना प्रदेशसभा सदस्यलाई ह्वीप जारी गरेको छ । संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले प्रदेश सभा बैठकमा अनिवार्य रूपमा उपस्थित हुन र पार्टीको निर्देशनअनुसार मतदान गर्न निर्देशन दिएका छन् ।


