तेल अभिभ । उत्तरी गाजाको समुद्र तट क्याफेमा भएको आक्रमणमा हमासका नौसेना कमान्डरको मृत्यु भएको बताइएको छ । यस आक्रमणमा धेरै नागरिकहरू पनि मारिएका खबर आएको छ । गाजाको अल–बाका क्याफेमा उक्त आक्रमण भएको थियो ।
आक्रमणमा नौ सेनाका कमान्डर रमजी रमजान अब्द अली सालेह साथै हमासको मोर्टार युनिटका उपप्रमुख हिशाम अयमान अतिया मन्सूर र निसिम मुहम्मद सुलेमान अबु सबाहाको मृत्यु भएको इजरायल रक्षा बल (आईडीएफ) ले आइतबार भनेको छ । सालेह हमासको समुद्री आक्रमण योजना बनाउन र कार्यान्वयन गर्न संलग्न रहेको आईडीएफको भनाइ छ ।
आक्रमणको समयमा हमासका एक जना वरिष्ठ कमान्डर क्याफेमा रहेको हल्ला सुनिएको गाजास्थित स्रोतहरूले बीबीसीलाई बताएका छन् । बीबीसीले क्याफे आक्रमणमा मारिएका २९ जनाको नाम पुष्टि गरेको छ, जसमध्ये कम्तीमा नौ जना महिला र बालबालिका थिए ।


