काठमाडौँ । नेकपा एमालेका सांसद किरणकुमार साहले अफताब आलमलाई सफाइ दिने न्यायाधीशद्वय खुसीराम थारु र अर्जुन महर्जनमाथि महाअभियोग प्रक्रिया अघि बढाउन माग गरेका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसद साहले जिउँदै इँट्टाभट्टामा जलाएर मारिएको जघन्य घटनामा दोषी ठहर भएका आलमको फैसला उल्ट्याउँदै सफाइ दिने न्यायाधीशद्वय थारु र महर्जनलाई महाअभियोगको प्रक्रिया अघि बढाउन माग गरेका हुन् ।
‘अहिले मिडिया र जनमानसमा यो निर्णयलाई राजनीतिक संरक्षणको परिणामको रूपमा व्याख्या गरिएको छ । यदि सरकार साँच्चै स्वतन्त्र न्यायपालिका चाहन्छ भने र कुनै राजनीतिक संरक्षण नभएको प्रमाणित गर्न चाहन्छ भने सो फैसला सुनाउने उच्च अदालतका न्यायाधीश खुसीराम थारु र अर्जुन महर्जनमाथि तत्काल महाअभियोग प्रक्रिया अघि बढाउनुपर्छ,’ साहले संसद् बैठकमा भने । साहले राजनीतिक भागबन्डामा न्यायाधीशको नियुक्ति तत्काल रोक्न पनि उनले आग्रह गरे ।


