२१ भदौ २०८३, आइतबार 1788746947
अर्थ

गोल्डेन हस्पिटलद्वारा उपचारमा २५ देखि ५० प्रतिशतसम्मको छुट

विराटनगर । गोल्डेन हस्पिटल विराटनगरले नेपाल सरकारको आमजनतालाई ‘सर्वसुलभ स्वास्थ्य सेवा’ उपलब्ध गराउने नीतिलाई सहयोग पुर्याउने गरी स्वास्थ्य उपचारमा छुटको व्यवस्था गर्ने भएको छ ।

निजी क्षेत्रद्वारा सञ्चालित सो अस्पतालले आज यहाँ पत्रकार सम्मेलनमार्फत सस्तो र गुणस्तरीय सेवा प्रदान गरी सरकारी नीति तथा कार्यक्रमलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

सो अस्पतालका प्रबन्धनिर्देशक डा श्यामकुमार रौनियारले आमजनताको आयशक्ति घटिरहेको मुलुकको विद्यमान असहज परिस्थितिलाई दृष्टिगत गरी यथासक्य छुटको व्यवस्थासहित सेवाग्राहीलाई राहत दिने प्रतिबद्धता व्यक्त गरे। उनले यसअघि लिइँदै आएको सेवाशुल्कमा २५ देखि ५० प्रतिशतसम्म छुट दिन लागिएको स्पष्ट गरेँ ।

मातृ तथा शिशु मृत्युदर घटाउने, विशेषज्ञ चिकित्सकद्वारा सुरक्षित र भरपर्दो शल्यक्रिया सुनिश्चित गर्ने, पाँच वर्ष मुनिका बालबालिकालाई सघन उपचार बाहेकका सेवामा २५ प्रतिशत छुट दिने र ८० वर्ष माथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशतसम्म छुट दिने व्यवस्था मिलाएको उक्त अस्पतालले जनाएको छ ।