४ आश्विन २०८१, शुक्रबार 1726854166
पालिका

बाजुराको बुढीगंगाका निर्वाचन अधिकृतद्धारा राजीनामा

बाजुरा — बाजुराको बुढीगंगा नगरपालिकाका निर्वाचन अधिकृत उपसचिव कृष्ण सापकोटाले राजीनामा दिएका छन् ।

शुक्रबार मतदानको दिन अधिकांश मतदान केन्द्रमा तनाव तथा स्वतन्त्र र निष्पक्ष मतदान प्रभावित भएको, त्यहीकारण आफूलाई सुरक्षाको जोखिम रहेको भन्दै उनले राजीनामा दिएका हुन् । उनको राजिनामा स्वीकृत भएरनभएको जिल्लामा जानकारी छैन । आफु असुरक्षित हुनुका साथै हुलहुज्जत हुनसक्ने भन्दै उनले राजिनामा दिएको मुख्य निर्वाचन अधिकृत माधवप्रसाद घिमिरेले बताए । पालिकाका विभिन्न केन्द्रमा स्वतन्त्र तथा निष्पक्ष मतदान हुन नसकेको भन्दै शुक्रवार कांग्रेस कार्यकर्ताले निर्वाचन अधिकृत सापकोटालाई नियन्त्रणमा राखेका थिए । मतदान कै दिनदेखि आफु असुरक्षित रहेको भन्दै शनिबार दिउँसो कार्यालय छाडेर सदरमुकाम मार्तडी आउँदै गर्दा उनलाई एमाले कार्यकर्ताले बार्जुगाढबाट नियन्त्रणमा लिएर पालिकास्थित निर्वाचन कार्यालयमा फर्काएर मतपेटिका बुझ्न लगाएका छन् । यतिबेला उनको थप सुरक्षा ब्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत घिमिरेले बताए ।बुढीगंगा नगरपालिका अन्तर्गतका विभिन्न मतदान केन्द्रमा शुक्रबार मतदानका क्रममा झडप, उम्मेदवार घाइते, बुथकब्जा, उम्मेदवार मतदान केन्द्रबाट लखेटिएका, सुरक्षाकर्मीले मतेपटिका छाडेर मतदान केन्द्रबाट हिँडेकोलगायतका घटना भएका थिए ।

उपसचिव सापकोटा मतदानकै दिनदेखि दोहोरो दवावमा रहेको बुझिएको छ । शनिबार दिउँसोसम्म दश वटा वडा रहेको बुढीगंगाका कुनै पनि मतदान केन्द्रको मतपेटिका निर्वाचन कार्यालयले बुझ्न मानेको थिएन । एमालेले मत पेटिका बुझेर मतगणना गर्न भनिरहेको छ भने कांग्रेसले केही मतदान केन्द्रमा एकलौटी भएको आरोप लगाउँदै पुनः मतदानको माग गरिरहेको छ । खास गरी बुढीगंगाका २,३,५ र ९ मा एमालेले बुथ कब्जा गरेको कांग्रेसको आरोप छ भने ४ र ७ नम्बरमा कांग्रेसले बुथ कब्जा गरेको एमालेको दावी छ ।

जिल्ला निर्वाचन ब्यवस्थापन समितिले सर्वदलीय बैठक बसिरहेको भएपनि सहमति हुन सकिरहेको छैन । बुढीगंगाका अधिकांश मतदानकेन्द्रहरु शुक्रबार तनावग्रस्त भएका थिए ।त्यसक्रममा एमाले र कांग्रेसको आआफ्नो वर्चस्व रहेको केन्द्रमा एकलौटी मतदान गरेका स्थानीयको भनाई छ । बुढीगंगाका ६ वटा मतदानकेन्द्रमा वडाध्यक्षका उम्मेदवारहरु मतदान केन्द्रबाटै लखेटिएका मतदान गर्न नपाएका सर्वसाधारणले बताएका छन् ।्र