काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले २०७७/७८ मा भएको संसद् विघटनको बचाउ गरेकी छिन् । मदन भण्डारी फाउन्डेसनले मंगलबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बाेल्दै भण्डारीले आफ्नो निर्णयको बचाउ गरेकी हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले नेकपाभित्रको विवादलाई देखाएर २०७७ साल पुस ५ गते संसद् विघटन गरेका थिए । मन्त्रिपरिषद्को निर्णय त्यतिबेला राष्ट्रपति रहेकी भण्डारीले कार्यान्वयन गरेकी थिइन् ।
२०७८ जेठ ८ गते ओलीले दोस्रो पटक संसद् विघटन गरेका थिए । तर ती दुवै विघटन सर्वोच्च अदालतले उल्ट्याइदिएको थियो । सोही विषयमा कार्यक्रममा उपस्थित सञ्चारकर्मीले प्रश्न उठाएका थिए । त्यसको जवाफ फर्काउँदै भण्डारीले कुनै दबाबमा नआई मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गरेको जिकिर गरेकी थिइन् । यस्ता घटना इतिहासमा धेरै पटक भएकाले छलफल गर्न आफू तयार भएको बताइन् ।
‘विगतको निर्णयले पछ्याइरहन्छ भन्ने विषयमा म जानकारै छु । २०१७ सालका कुरा पनि इतिहासमा आइरहन्छ । २०५१ मा पनि संसद् विघटन भएको थियो, त्यो पनि आइरहन्छ । म राष्ट्रपति भएको बेला पनि दुई पटक संसद् विघटन भयो । त्यसलाई मैले कुनै दबाब भन्दा पनि मन्त्रिपरिषद्ले गरेको निर्णयलाई मैले कार्यान्वयन गरेको हुँ । संविधानमा जे व्यवस्था छ, त्यही गरेको हो । त्यसमा छलफलमा भाग लिन चाहनुहुन्छ भने संवैधानिक, कानुनी, इतिहासमा जे गर्दा देशलाई निकास दिन सक्छ छलफल गर्न सकिन्छ’, उनले भनिन् ।


