२१ बैशाख २०८३, सोमबार 1777874770
अर्थ

ओभरलोड नियन्त्रणमा कडाइ गर्न ट्राफिक र नेपाल प्रहरीलाई निर्देशन

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले सवारी साधनमा अत्यधिक भारवहन (ओभरलोड) नियन्त्रण गर्नका लागि ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई प्रभावकारी निर्देशन दिन आग्रह गरेको छ।

महासंघका अध्यक्ष हिरालाल श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रहरी महानिरीक्षक दिपक थापासँग भेट गर्दै ज्ञापनपत्र बुझाएको हो।

महासंघका महासचिव राजेन्द्र बिक्रम बाँनियाँका अनुसार सवारी तथा यातायातसम्बन्धी ऐन, नियम र ‘मालवाहक सवारीको भारवहन नियमन सम्बन्धी निर्देशिका २०७४’ को प्रभावकारी कार्यान्वयन हुन नसक्दा ओभरलोड प्रवृत्ति बढिरहेको छ। “स्वदेशी तथा विदेशी ट्रकहरूले लोड सिट विना तोकिएकोभन्दा बढी भार बोक्ने, र सामान्य जरिवाना तिरेर सवारी सञ्चालन गर्ने प्रवृत्तिले कानुनको सम्मान हुँदैन,” बाँनियाँले भने।

ज्ञापनपत्रमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहे पनि न्यून जरिवानाका कारण समस्या समाधान नभएको उल्लेख गरिएको छ। महासंघले ओभरलोड गर्ने ट्रकलाई यातायात कार्यालयमा चलान गर्न वा निर्देशिकाअनुसार सामान अनलोड गराई भार मिलान गर्न कडाइका साथ व्यवस्था गर्नुपर्ने माग राखेको छ।

महासंघले हालै सञ्चालनमा ल्याएको ‘भारवहन नियमन सफ्टवेयर’ लाई प्रभावकारी बनाउन ट्राफिक प्रहरीको सहकार्य आवश्यक रहेको पनि जनाएको छ।