काठमाडौं । नेपालमा अकुपञ्चर सेवाको संस्थागत र गुणस्तरीय विकासमा अग्रणी भूमिका खेलेको संस्था ब्लु लोटस हेल्थ होम केयर प्रालिले आफ्नो पाँचौं वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न गरेको छ।
अध्यक्ष डा. सुरज कर्माचार्य, मेडिकल डाइरेक्टर डा. प्रसिद्ध खड्गी, तथा प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीको उपस्थितिमा सम्पन्न भएको समारोहमा विभिन्न शाखाबाट आएका चिकित्सक, प्रशासनिक अधिकृतहरू तथा कर्मचारीहरू तथा संस्थाका सम्पूर्ण कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष तथा नेपालकै प्रथम अकुपञ्चर विशेषज्ञ डा. सुरज कर्माचार्यले “नेपालमा अकुपञ्चरको विशेषज्ञ सेवा सम्पूर्ण नागरिकसम्म सहज पहुँच होस्” भन्ने उद्देश्यका साथ संस्थाको स्थापना गरिएको उल्लेख गरे । उनले आजको दिनसम्म आइपुग्दा आफ्नो कल्पना भन्दा धेरै बिरामीहरूको माया, प्रेम र सद्भाव प्राप्त भएकोमा गहिरो खुसी व्यक्त व्यक्त गरे ।
समारोहमा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै प्रबन्ध निर्देशक बद्री बहादुर कार्कीले गहिरो भावनात्मक शैलीमा संस्थाको संघर्ष, वर्तमान सफलता र भविष्यको लक्ष्यबारे स्पष्ट धारणा व्यक्त गरे । कार्यक्रममा उनले सबै कर्मचारीप्रति कृतज्ञता व्यक्त गर्दै भने, “ब्लु लोटसको सबैभन्दा ठूलो शक्ति र सम्पत्ति तपाईंहरू (कर्मचारीहरू) नै हुनुहुन्छ। तपाईंहरूको निष्ठा, परिश्रम र समर्पणले आजको यो संस्था निर्माण गरेको हो।”


