काठमाडौं । ‘नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चर्स एसोसिएसन’ (नाइमा) ले आगामी साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ आयोजना गर्ने भएको छ ।

यसअघि नाडा अटो शोमा सँगै काम गर्दै आएका अटो व्यवसायीहरुले यसपटक नाइमा खोलेर मोबिलिटी एक्स्पो गर्दैछन् । जसमा ५० भन्दा बढी ब्राण्डको सहभागिता हुनेछ । कुल ५० ब्राण्ड सहभागी हुने एक्स्पोमा ४८ स्टल रहने छन् । यसमध्ये चार पाङ्ग्रेका २१, दुई पाङ्ग्रेका १७ र व्यावसायिक सवारी साधन ब्राण्डका ७ वटा स्टल रहने छन् । एक्स्पोमा विद्युतीय सवारीसाधन (ईभी), हाइब्रिड र डिजेलरपेट्रोल सवारी साधन प्रदर्शनी हुनेछन् ।
सहभागी हुने भिजिटर र सहभागी कम्पनी दुबैलाई सहज हुने गरी एक्स्पो आयोजनाको तयारी गरिएको एक्स्पोका संयोजक शिरिष मुरारका बताउँछन् । उनका अनुसार भिजिटर एक्स्पो स्थलभित्र प्रवेश गरेपछि सबै ब्राण्डका स्टल भिजिट गर्न सक्ने गरी प्लानिङ गरिएको छ । यसका लागि पार्किङदेखि सबै कुरा व्यस्थित बनाएको उनको भनाइ छ ।
नाइमा मोबिलिटी एक्स्पोमा राखिने छ यी ब्रान्डका बाइक र स्कुटर
सेगवे–नाइनबट
विद्युतीय स्कुटर बजारमा सक्रिय आइहब प्रालिले यसपटक ‘सेगवे–नाइनबट’ ब्रान्डका दुई वटा नयाँ ईभी मोडल प्रस्तुत गर्ने योजना बनाएको छ । अहिले ती मोडलहरूको अन्तिम तयारीमा कम्पनी लागेको छ ।
एक्सेस
सुजुकी टू ह्वीलरको नेपालका लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले आफ्नो चर्चित मोडल ‘एक्सेस’को अपग्रेडेड भर्सन सहित सोही मोडलको ईभी संस्करण पनि एक्स्पोमा सार्वजनिक गर्ने भएको छ । पेट्रोल र ईभी दुवै विकल्प एकैसाथ देखिनु उपभोक्ताका लागि नयाँ अनुभव बन्नेछ ।
केटीएम एड्भेन्चर र केटीएम ड्युक
केटीएम एड्भेन्चर र केटीएम ड्युकको नयाँ भर्सन नेपालमा पहिलोपटक एक्स्पोमार्फत सार्वजनिक गर्ने तयारी छ । केटीएम बाइकको आधिकारिक आयातकर्ता हंशराज हुलाशचन्द एण्ड कम्पनीले भारतमा केही महिनाअघि सार्वजनिक गरिएको ड्युकको मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो ।
याडिया किननेस
याडिया ब्रान्डको आधिकारिक बिक्रेता कुजु नेपाल प्रालिले ‘याडिया किननेस’ नामक नयाँ ईभी बाइक ल्याउने घोषणा गरिसकेको छ । १०० किमी प्रतिघण्टा गतिको क्षमतायुक्त यो बाइकमा अगाडिबाट पछाडिसम्म डिस्क ब्रेक, कम्बाइन ब्रेकिङ सिस्टम र दुई वर्ष वा २० हजार किलोमिटरको वारेन्टीजस्ता विशेषता समावेश छन् ।
जीहो ईभी
ऋषी ट्रेड सेन्टरले पनि एक्स्पोमा नयाँ मोडलको जीहो ईभी डिस्प्ले गर्ने तयारी गरिरहेको छ ।
रिभोल्ट
दुगड ब्रदर्श एण्ड सन्सले विद्युतीय बाइक ब्रान्ड ‘रिभोल्ट’ को २०२५ को नयाँ अपडेटेड मोडल एक्स्पोमा राख्ने तयारी गरेको छ । कम्पनीले यसलाई स्मार्ट ईभीको खोजीमा रहेकाहरूको लागि उपयुक्त विकल्पका रूपमा प्रस्तुत गर्ने जनाएको छ ।
मोर्बिडेली
बनेलीको आधिकारिक बिक्रेता केटीएम इन्टरनेशनलले ‘मोर्बिडेली’ ब्रान्ड अन्तर्गतका २५० र ३५२ सीसी क्षमताका स्पोर्ट बाइक एक्स्पोमा प्रस्तुत गर्ने तयारी गरिरहेको छ ।
एन्टर्क स्कुटर
जगदम्बा मोटर्सले लोकप्रिय एन्टर्क स्कुटरको नयाँ भर्सन प्रस्तुत गर्ने तयारी गरिरहेको छ । कम्पनीले यसलाई विशेष रणनीतिका साथ एक्स्पोमा प्रदर्शन गर्ने योजना बनाएको छ ।
गोगोरो
गोगोरो ब्रान्डको आधिकारिक विक्रेता नेबुला मोबिलिटीले हालैका लोकप्रिय मोडलहरू एक्स्पोमा प्रस्तुत गर्नेछ।
एथर रिज्ता
भारतमा सबैभन्दा बढी बिक्री हुने इभी टू ह्वीलर ब्रान्ड ‘एथर’ को नयाँ मोडल ‘एथर रिज्ता’ नेपालमा डेब्यू गर्दैछ । यसको आयातकर्ता वैद्य इनर्जी प्रालिले एक्स्पोमै औपचारिक रूपमा लन्च गर्ने तयारी गरिरहेको छ ।
यी बाहेक महिन्द्रा, होण्डा, रोयल इन्फिल्ड, बजाज, नियो लगायतका ब्राण्ड पनि नाइमा एक्स्पोमा सहभागी हुँदैछन् ।


