१२ श्रावण २०८३, मंगलबार 1785297814
Banner

बागमतीका नवनियुक्त मन्त्रीहरूको शपथ अनिश्चितकालका लागि स्थगित

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथग्रहण कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको छ। प्रदेश प्रमुखको स्वास्थ्यमा समस्या आएपछि बिहीबार दिउँसो १ बजे हुने भनिएको कार्यक्रम अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको हो। प्रमुखको कार्यालयका प्रवक्ता देवेन्द्र सापकोटाले विज्ञप्ति जारी गर्दै सो जानकारी दिएका हुन्।

मुख्यमन्त्री बहादुरसिंह लामाले बुधबार गोविन्द लम्साल, गीता गुरुङ र माया श्रेष्ठलाई मन्त्री नियुक्त गरेका थिए। तर नेपाली कांग्रेस संसदीय दलको नेताको निर्वाचन कार्यक्रमका कारण शपथग्रहण बिहीबार सारिएको थियो।उक्त निर्वाचनमा मुख्यमन्त्री लामा कांग्रेस नेता इन्द्रबहादुर बानियाँसँग पराजित भएका थिए। बानियाँको पक्षमा कांग्रेसका बहुमत सांसदहरू रहेको दाबी गर्दै लामामाथि राजीनामाको दबाब बढ्दो छ। तर लामाले आफू संविधानको धारा १६८(२) अनुसार नियुक्त भएकाले संसदीय दलको नेताबाट पराजित हुँदैमा राजीनामा दिनु नपर्ने तर्क गरेका छन्।