काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हिम्मत नहार्ने र भविष्यप्रति आशावान युवा उद्यमीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न योगदान दिने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज औद्योगिक व्यवसाय विकास प्रतिष्ठानद्वारा आयोजित ‘प्रधानमन्त्रीसँग स्टार्टअप उद्यमी’ कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् । प्रधानमन्त्री ओलीले भविष्यलाई परित्याग गरिएमा केही पनि बाँकी नरहने भएकाले विकसित मुलुकको सुन्दर भविष्यप्रति आशावादी भएर हामी सक्छौँ भन्ने भावका साथ लाग्नुपर्नेमा जोड दिए ।
‘हामी सन् २०२६ मा विकसित मुलुकमा स्तरोन्नति हुँदैछौँ । त्यसपछि विकसित मुलुकमा पुग्नेछौँ । हाम्रो देश अरूले आएर बनाइदिँदैन । हामीले नै बनाउने हो । प्रविधिको प्रयोग, विकास र अभ्यासका आधारमा हामी आधुनिकीकरण र उत्पादन वृद्धिमा लाग्न सक्नेछौँ ’ प्रधानमन्त्री ओलीले भने, ‘हामी सबै लागेमा वि क्यान डु…. नेपाल बन्छ।’ कार्यक्रममा नेपाली उद्यमीका विविध उत्पादन स्टलको प्रधानमन्त्रीले अवलोकन गरेका थिए ।


