२३ असार २०८३, मंगलबार 1783411882
अर्थ

मध्य लिखु साना जलविद्युत् आयोजना निर्माण हुँदै

काठमाडौँ । पर्वत इनर्जी प्रालिले ८.६० मेगावाटको मध्य लिखु साना जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । सोलुखुम्बु जिल्लाको लिखुपिके गाँउपालिका, ओखलढुङ्गाको खिजिदेम्बा र रामेछापको उमाकुण्ड गाँउपालिका भएर बग्ने लिखु खोलाको पानी सदुपयाेग गरी उक्त आयोजना निर्माण गरिने भएको हाे ।

आयोजनालाई आवश्यक पानी लिन लिखु खोलामा ३० मिटर लामाे तथा २.५ मिटरसम्म अग्लाे बाँध निर्माण गरिने छ । बाँधको अधिकतम जलसतह समुद्री सतहबाट १२९९.० मिटर उचाइमा रहने छ ।

आयोजनाबाट वार्षिक सरदर ५४.५५ गिगावाट घण्टा विद्युुत् उत्पादन हुने अनुमान गरिएकाे छ । आयोजनाबाट उत्पादन भएको  बिजुली ३३ केभीको प्रसारण लाइन मार्फत १५.११ किलोमिटरको दूरीमा रहेको गर्ज्याङ सबस्टेसनमा लगेर जोडिने छ । कम्पनीले आयोजना निर्माण सुरु भएको ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

प्रारम्भिक वातावरणीय प्रभाव परीक्षण (आइइई) प्रतिवेदन तयार भइसकेको आयोजनाको निर्माण गर्दा उल्लेखनीय वातावरण प्रभाव पार्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न आग्रह गर्दै विभागले शुक्रबार सूचना जारी गरेको छ ।