१ जेष्ठ २०८३, शुक्रबार 1778879150
अर्थ

मध्य–भोटेकोसीमा सम्भावित प्राकृतिक जोखिम कम गरी सञ्चालनकाे तयारी गर्न निर्देशक शाक्यको निर्देशन

मध्य–भोटेकोसीमा सम्भावित प्राकृतिक जोखिम कम गरी सञ्चालनको तयारी गर्न निर्देशक शाक्यको निर्देशन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले १०२ मेगावाटको मध्य–भोटेकोसी जलविद्युत् आयोजनामा बाढीलगायत विपत्‌को सम्भावित जोखिम कम गरी सञ्चालनको तयारी गर्न निर्देशन दिएका छन् । आयोजनाको स्थलगत अवलोकन गरी सम्बद्ध अधिकारीलाई सुरुङको चुहावट परीक्षण र विद्युत्‌गृह लगायतका संरचनामा बाढी पस्न नसक्ने अवस्था सुनिश्चित गरी उत्पादनका लागि तयारी अवस्थामा पुर्‍याउन उनले निर्देशन दिएका हुन् ।

पूर्ण रूपमा स्वदेशी सिप र पुँजीबाट निर्माण गरिएको आयोजनाको बुधबार उत्पादनका लागि सबै तयारी पूरा गरेको जनाएको थियो । कार्यकारी निर्देशक शाक्यले आयोजनाको अवलोकन गरी थप निर्देशन दिएका हुन् ।

‘कार्यकारी निर्देशक ज्युले आयोजनाअन्तर्गत ७।२ किलोमिटर लामो सुरुङमा पानी चुहिनेरनचुहिने सुनिश्चित गर्न निर्देशन दिनुभएको छ,’ प्राधिकरणका एक अधिकारीले भने । उनका अनुसार शाक्यले आयोजनाका पूर्वाधारलाई भोटेकोसीमा आउन सक्ने बाढीले प्रभाव नपार्ने गरी आवश्यक व्यवस्था गर्न समेत निर्देशन दिएका छन् । ‘उहाँले विद्युत्‌गृहलाई बाढीबाट जोगाउन ‘स्लाइडिङ ब्यारिकेडुहरू बनाउनसमेत निर्देशन दिनुभएको छ,’ ती अधिकारीले भने ।

लामो समयको प्रतिक्षापछि विद्युत् उत्पादन सुरु गर्न लागेको आयोजनाको बाँध सिन्धुपाल्चोकको मार्मिङ–९ चाकुमा पर्ने भोटेकोसी नदीमा निर्माण गरिएको छ । त्यस्तै विद्युत्‌गृह जम्बुमा रहेको छ ।

आयोजनाबाट वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ ।

आयोजना निर्माणको काम केही महिनाअघि नै सम्पन्न भए पनि प्रसारण लाइनको टुङ्गो नलागेका कारण उत्पादन सुरु भएको थिएन । सुरुमा बाह्रबिसे–लप्सिफेदी प्रसारण लाइनबाट आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गर्ने योजना बनाइएको भए पनि स्थानीय अवरोधका कारण लामोसाँघुतर्फबाट ल्याउने प्रयास भएको थियो । त्यहाँबाट समेत प्रसारण गर्न सम्भव नभपछि प्राधिकरणकै स्वामित्वमा रहेका न्यू खिम्ती ४०० केभी सबस्टेसन हुँदै ढल्केवर प्रसारण लाइन मार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न लागिएको हो ।

२०७० सालदेखि निर्माण सुरु भएको आयोजनामा २०७१ साउनमा आएको जुरे पहिरो, २०७२ वैशाखको विनाशकारी भूकम्प, २०७२ असोजदेखि करिब साढे पाँच महिना लामो भारतीय नाकाबन्दी, २०७३ असारमा भोटेकोसी नदीमा आएको बाढी, निर्माणस्थल भोटेकोसी नदी एवं आसपास क्षेत्रमा आएको बाढी–पहिरो तथा कोभिड–१९ महामारीका कारण ढिलाइ भएको थियो ।

पछिल्लो पटक प्रसारण लाइनको अन्योलका कारण उत्पादन सुरु हुनसकेको थिएन ।