२६ जेष्ठ २०८३, मंगलबार 1781065876
Banner

गोसाइँकुण्ड मेला सम्पन्नः दशहजार बढी भत्तजनले स्नान गरे

रसुवा- जनैपूर्णिमाको अवसरमा रसुवाको पबित्र तिर्थस्थल गोसाइँकुण्डमा लाग्ने मेला सम्पन्न भएको छ ।

नागपचमीदेखि सुरु भई साउन शुक्ल पुर्णीमा अर्थात जनैपूर्णिमाका दिनसम्म लाग्ने मेलामा करिब दश हजार भत्तजनहरुले गोसाईकुण्डमा स्नान गरी पूजाआराधना गर्दै मेला भरेको गोसाईकुण्ड क्षेत्र बिकास समितिले जनाएको छ ।

उच्च हिमाली क्षेत्र भएकाले मेलामा आउने भत्तजनहरुका लागि लेक लागेर पर्न सक्ने समस्यालाई गोसाँइकुण्ड गाँउपालिका, जनस्वास्थ्य कार्यालय, रसुवा अस्पताल, हिमालय उद्घार समाज, योङ कम्युनिष्ट लिग तथा अनेरास्वबियू क्रान्तिकारी, र लाङटाङ राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ श्रीनाथगणले निशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गरेका थिए ।

मेलामा नेपाल प्रहरी शसस्त्र प्रहरी नेपाली सेनाको उद्धार टोली समेत तयार गरि परि चालन गरिएको थियो । पौराणिक कथन अनुसार परापुर्व कालमा देवता र दानव विच लडांई हुंदा समुन्द« मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरि विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाईवावा भगवान शिव शंकरले आफ्नो हातमा भएको त्रिशुलले भितामा हिर्काउँदा भिताबाट गंगाजल अर्थात त्रिशुल धाराको उत्पति भई त्रिशुल धाराको पानीबाट गोसाईकुण्डको उत्पति भएको भन्ने किम्बदन्ती रहेको पाईन्छ ।

कुण्डमा स्नान गरि गोसाईवावा भगवान शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफुले चित्ताएको सवै मनोकांक्षाहरु पुरा हुने जनविश्वासका साथ वर्षेनि हजारौं हजार भक्तजनहरु कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

समुद्रि सतह देखि ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड सन् २००७ सेप्टेम्वरमा रामसार सुचिमा समेत सुचिकृत छ । गोसाईकुण्ड गाउँपालिका-५ मा अवस्थित गोसाईकुण्डमा हरेक बर्ष गंगादशहरा र जनैपूर्णिमामा गरि २ पटक मेला लाग्ने गर्दछ ।

धार्मिकस्थल गोसाइँकुण्ड जानका लागि धुन्चे–गोसाइँकुण्ड, ठाडेपाटी–गोसाइँकुण्ड, यार्सा–गोसाइँकुण्ड र सागरकुण्ड–गोसाइँकुण्ड गरी चारवटा पदमार्ग सञ्चालनमा छन् । काठमाडौं–धुन्चे–गोसाइँकुण्ड पदमार्ग भने यात्रुहरु सबैभन्दा बढी चल्ती हुने बाटो हो ।

काठमाडौं । घुम्नै पर्ने ठाउँहरूको सूचीमा सधैं अग्रस्थानमा थियो गोसाईकुण्ड । धेरै सुनेको, तस्बिर र भिडियोमा देखेको – तर पटक–पटकको प्रयासका बाबजुद पुग्न नसकेको गन्तव्य ।

घुम्न पैसा र समय मात्र पर्याप्त हुँदैन; इच्छाशक्ति, संयोग र साथ पनि उत्तिकै महत्वपूर्ण हुनेरहेछन् । घुम्न असाध्यै रुचाउने व्यक्तिमध्येका एक हुन्- ध्रुव आचार्य । उनले नेपालको ७६ जिल्ला घुमिसकेका छन् । हाम्रो स्वभाव मिल्ने एउटा प्रमुख आधार नै घुमाइ हो । भेट हुनेबित्तिकै हाम्रो कुराकानी नयाँ गन्तव्यतर्फ मोडिन्छ । यसपटक पनि त्यही भयो र गोसाईकुण्ड यात्रा तय भयो ।

रसुवाको धुन्चेमा उनका सामुदायिक वनसम्बन्धी कार्यक्रम रहेछ । दोलखाबाट उनी र फेकोफनका अध्यक्ष जगनाथ बस्नेत सहभागी हुँदै थिए । मलाई कार्यक्रमको अन्तिम दिन धुन्चे आइपुग्न आग्रह भयो र म पनि चरिकोटबाट यात्रामा निस्किएँ ।धुन्चेबाट बिहान साढे चार बजे नै हामी तीनजनाको यात्रा सुरु भयो । नयाँ बाटो र नयाँ गन्तव्यले मनमा उत्सुकता थप्दै थियो । ७–८ किलोको ब्याग बोकेर उकालो लाग्दा थकानभन्दा पनि रोमाञ्च बढी महसुस हुन्थ्यो ।

ध्रुवजी दुई दशकअघि नै यहाँ पुगिसक्नुभएको रहेछ, तर अहिलेको परिवर्तन देखेर उहाँ स्वयं चकित हुनुहुन्थ्यो । बाटोघाटो, होटल, बिजुली, फोन र इन्टरनेट – सबैले विकासको फड्को मारेका थिए । देउरालीमा खाजा खाँदा एउटा रोचक अनुभूति भयो- नेपालीहरू खानुअघि मेनु हेर्नेभन्दा खाने बानी बढी राख्छन्, जबकि विदेशीहरू पहिले मेनु पढेर मात्रै निर्णय गर्छन् । रोल्वालिङ क्षेत्रको तुलनामा यहाँको खानाको मूल्य केही महँगो लाग्यो ।

चन्दनबारी पुग्दा पानीले स्वागत गर्‍यो । भोक र पानीको संयोगले त्यहाँको शेर्पा होटलमा उवाको ढिडोको स्वादले झनै मिठो बनायो । संयोगले हामी तीनैजना ढिडोका पारखी रहेछौं- थप्दै, हाँस्दै, रमाउँदै खायौं ।

वरिपरि लालीगुराँसले गाउँ नै राताम्य बनाएको थियो । होटलका टेबलदेखि बाटोसम्म लालीगुराँसले सजिएका दृश्यले मन लोभ्याइरहेका थिए ।

चोलाङपाटी पुग्दा ध्रुवजीको स्वास्थ्यमा समस्या देखियो । केही घण्टा विश्रामपछि उहाँ फर्किने निर्णयमा पुग्नुभयो । त्यसपछि जगनाथ र म मात्रै अघि बढ्यौं । यहाँबाट हिँड्न नसक्नेका लागि घोडाको व्यवस्था रहेछ । लौरीबिनासम्म २ हजार र कुण्डसम्म ७ हजार रुपैयाँ । केही यात्रुहरू घोडामै अघि बढिरहेका थिए ।

लौरीबिना पुग्दा साँझ पर्न थालिसकेको थियो । समुद्र सतहदेखि करिब ३९५० मिटर उचाइमा रहेको यो ठाउँ चिसो र शान्त थियो । हामी ‘मायाको होटल’ मा बस्यौं । प्याकेज प्रणालीमा चल्ने उक्त होटलमा एक जनाको १४५० रुपैयाँमा खाना, बसोबास र तातो पानीको व्यवस्था थियो ।

उचाइसँगै चिसो पनि बढ्दै थियो, तर मनमा गोसाईकुण्ड पुग्ने उत्साहले सबै थकान हराइरहेको थियो । बिहान साढे चार बजे नै उठेर टर्चको सहारामा उकालो लाग्यौं । उज्यालो नहुँदै हिँड्दा आकाशमा टल्किएका ताराहरू पनि यात्राका साथी बनेका थिए । नजिकै लाङटाङ हिमशृङ्खला, चिसो हावा र ठाडो उकालो – यी सबैले यात्रा चुनौतीपूर्ण बनाए पनि दृश्यले मन प्रफुल्लित पार्थ्यो । लौरो बिना हिँड्न गाह्रो हुने भएकाले नै सायद यस ठाउँको नाम ‘लौरीबिना’ रहन गएको हो ।

करीब साढे दुई घण्टाको कठिन उकालो, तेस्रोपछि अन्ततः गोसाईकुण्ड क्षेत्र पुग्यौं । नागकुण्ड, भैरवकुण्ड हुँदै मुख्य गोसाईकुण्ड—४३८० मिटर उचाइमा अवस्थित यी कुण्डहरू लस्करै सजिएका थिए ।

कुण्ड वरिपरि एक फन्को लगाउँदा प्रकृतिको अनुपम सौन्दर्यसँग प्रत्यक्ष साक्षात्कार भयो । त्यहाँ पुगेपछि भोक, प्यास र थकान सबै हराएजस्तो लाग्यो ।

कुण्डको नीलो पानी, वरिपरिका हिमाल, साना–साना घरहरू र ढुंगाका आकृतिहरूले दृश्यलाई चित्रझैं बनाइदिएका थिए । धेरैजना यात्रु कुण्डमा स्नान गरिरहेका थिए, तर मैले भने मुख पखालेर क्यामेरामा ती क्षणहरू कैद गर्न रोजेँ । डेढ घण्टाको बसाइ छोटो लागे पनि अत्यन्तै उपलब्धिमूलक रह्यो ।

गोसाईकुण्ड केवल धार्मिक आस्था होइन, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको अद्वितीय संगम पनि रहेछ । यहाँ नेपालीभन्दा विदेशी पर्यटकको उपस्थिति बढी देखिन्थ्यो । उनीहरू घण्टौंसम्म कुण्डलाई नियाल्दै, ध्यानमा मग्न भएर प्रकृतिसँग संवाद गरिरहेका हुन्थे । त्यो दृश्यले मलाई पनि केही क्षण मौन बनायो – जहाँ शब्दभन्दा अनुभूति बलियो हुन्छ ।

यो यात्रा गन्तव्यमा पुग्ने संघर्ष मात्र रहेन, बाटोभरि भेटिएका दृश्य, अनुभूति र साथीहरूको साथले बनेको एउटा जीवन्त संस्मरण बन्यो । कहिलेकाहीँ गन्तव्यभन्दा यात्रा आफैं सुन्दर हुन्छ भन्ने कुरा गोसाईकुण्डले फेरि एकपटक सम्झाइदियो ।

रसुवा, ७ जेठः हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान् शिवको दर्शन तथा स्नान गर्न देश–विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् ।

यही जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म तीन सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब पाँच हजार भक्तजन आउने अनुमान गरिएको छ ।

शिवको तपोभूमिः शास्त्रमा वर्णित गोसाइँकुण्ड

पुराणहरूमा वर्णन भएअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको घातक कालकूट विषले सम्पूर्ण सृष्टि विनाश हुने अवस्था सिर्जना भएको थियो । सृष्टिको रक्षा गर्न भगवान् शिवले उक्त विष कण्ठमा धारण गर्नुभयो, जसकारण उहाँ नीलकण्ठ नामले प्रसिद्ध हुनुभयो ।

विषको ताप सहन नसकेपछि भगवान् शिव शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आउनुभएको धार्मिक विश्वास छ । त्रिशूलले हिमालको पहरामा प्रहार गर्दा निस्किएको पवित्र जलबाट बनेको दिव्य कुण्ड नै गोसाइँकुण्ड भएको जनविश्वास रहिआएको छ । यही कारणले यस कुण्डको जललाई पाप नाश गर्ने, मन शुद्ध गर्ने तथा मोक्ष प्रदान गर्ने पवित्र जल मान्नेहरू पनि छन् । 

धार्मिक मान्यताअनुसार गङ्गादशहरामा स्नान गर्दा दश प्रकारका पाप नाश हुन्छन् । जनैपूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने विश्वास छ । जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने मान्यता रहिआएको छ । कठिन यात्रा, दिव्य अनुभूति, समुन्द्र सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा अवस्थित यो तीर्थ पुग्न श्रद्धा, धैर्य र साहस आवश्यक पर्छ । 

काठमाडौँबाट बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान पार गरी धुञ्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक, गणेश गौंडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि अन्ततः पवित्र गोसाइँकुण्ड दर्शन हुन्छ ।

यात्रुहरूको अनुभवअनुसार उकालो चढ्दा सास फेर्न गाह्रो भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ उमङ्ग प्राप्त हुने अनुभूति मिल्छ ।

धार्मिक सेवा र यात्रु व्यवस्थापन

बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरिसकेका र खान–बस्नको उचित व्यवस्थापन गरिएको होटल व्यवसायी लामाले बताउनुभयो । यही जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिनुभयो ।

यात्राका क्रममा समस्या परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापाले जानकारी दिनुभयो । 

स्वास्थ्य र सुरक्षित यात्रा सुझाव

लौरीविनायकभन्दा माथि उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले स्वास्थ्यकर्मीले निम्न सावधानी अपनाउन आग्रह गरेका छन् । धुञ्चेमा एक रात बस्दै शरीरलाई वातावरणसँग मिलाएर जान उपयुक्त हुने स्थानीयले बताएका छन् ।

अदुवा, कागती, लसुन, बिरेनुन साथमा लैजाने, चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्ने, हतार नगरी बिस्तारै उकालो चढ्ने, पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँ विमानस्थलबाट हेलिकोप्टर सेवा पनि उपलब्ध रहेको जनाइएको छ ।

प्रकृति संरक्षण पनि धर्मकै अङ्ग

यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न सबै यात्रुमा अनुरोध गरिएको छ । हिमालयको संरक्षण नै भगवान् शिवप्रतिको सच्चा श्रद्धा भएको धार्मिक तथा वातावरणीय सन्देश रहेकाले सोहीअनुसार आग्रह गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताउनुभएको छ ।

आस्था, प्रकृति र अध्यात्मको सङ्गम

धार्मिक विद्वानहरूका अनुसार भगवान् शिवले सम्पूर्ण प्राणीजगत्को रक्षा गर्न विषपान गर्नुभएको स्मरणस्वरूप भक्तजनले जीवनमा कम्तीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ ।

कठिन हिमाली यात्रा, शुद्ध हिमजल, मन्त्र उच्चारणको गुञ्जन र गहिरो श्रद्धाले भरिएको वातावरणले गोसाइँकुण्डलाई केवल ताल मात्र नभई आत्मशुद्धि, आस्था र अध्यात्मिक जागरणको तीर्थ बनाएको छ । गङ्गादशहराको पावन अवसरसँगै गोसाइँकुण्ड हाल भक्तिभाव, विश्वास र धार्मिक उत्साहले भरिएको पुरोहित उपेन्द्र मिश्रले बताउनुभयो ।