काठमाडौं, २६ साउन । माबिलुङ इनर्जी लिमिटेडले आजदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन थालेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भएको आईपीओ बाँडफाँटपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री सुरु गरेको हो ।
कम्पनीलाई नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ३८ करोड ५८ लाख २४ हजार रुपैयाँको ४८.९९९८ प्रतिशत अर्थात १८ लाख ९० हजार ५३० कित्ता शेयर निष्काशन गर्ने अनुमति प्राप्त छ । यसमध्ये ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भई बाँडफाँट भइसकेको छ ।
अब कम्पनीले १३ लाख ५४ हजार २३५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्दैछ । यसमध्ये ३० हजार ९५ कित्ता कर्मचारी र ७५ हजार २३६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएका छन् । बाँकी १२ लाख ४८ हजार ९०४ कित्ता सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।
न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने यो आईपीओको निष्काशन अवधि छिटोमा साउन २९ गते र ढिलोमा भदौ ९ गतेसम्म रहनेछ ।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ सिंगल बी प्लस’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
माबिलुङ इनर्जीले सञ्चालन गरेको ४.९५ मेगावाट क्षमताको माथिल्लो पिलुवाखोला–३ जलविद्युत आयोजनाको अनुमानित लागत १ अर्ब १३ करोड ६० लाख रुपैयाँ छ । प्रतिमेगावाट लागत २२ करोड ९५ लाख रुपैयाँ रहेको यस आयोजनाको विद्युत अनुमतिपत्र ३१ वर्ष बाँकी छ । साधारण लगानी फिर्ता हुने अवधि ९.४३ वर्ष र छुट मूल्यमा लगानी फिर्ता हुने अवधि १७.०९ वर्ष रहने अनुमान गरिएको छ ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सबै सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखाबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।


