झरना के.सी.

संस्कार त्यस्तो आधारशिला हो जसमा बच्चाको मानसिक, आवेगात्मक, सामाजिक र नैतिक जीवन बनेको हुन्छ । संस्कार परम्परा मात्र होइन यो त बच्चाले जीवन जीउने, माया गर्ने, सोच्ने र हुर्कने तरीका हो । संस्कारले परिवार, बिद्यालय, समाज र अन्य सूचनाका माध्यमबाट बच्चाहरुको सिक्ने तरीका, अभ्यास, मूल्य मान्यता र अन्तदृष्टि लाइ जनाउदछ जसले बच्चाको परिचय, ब्यवहार, धारणा र सन्सारीक दृष्टकोणको स्पष्ट रेखा कोर्न मद्दत गर्दछ । संस्कार त्यस्तो बिज हो जसको माध्यमबाट ब्यक्तिको आगामी जीवनका अन्य क्रियाकलापको आकार र दिशा निर्धारण हुन्छ । सिग्मण्ड फ्रायडका अनुशार “संस्कारले बच्चालाइ उनीहरुको जन्मजात व्यवहार नियन्त्रण गर्न, नैतिकताको विकास गर्न र समाजमा फिट हुने तरिका सिकाएर बच्चाको भविश्यलाइ सोहि अनुशार ढाल्न मद्दत गर्दछ ।”
बच्चालाई सानै देखिनै उचित संस्कार सिकाउनु अति नै आवश्यक छ । सानै उमेरमा सिकेको कुराले गहिरो प्रभाव पार्दछ । बच्चा र बच्चाको व्यक्तित्व निमार्णमा महत्वपुर्ण भुमिका खेल्दछ । बच्चाहरु धेरै कुरा देखेर र सुनेर सिक्ने भएकोले यसमा स्वयं अभिभावकनै ईमान्दार, मेहेनेती, सभ्य र दयालु भएर उदाहरण बन्नु पर्दछ । भनिन्छ काँचो माटोलाई जे बनाउन खोज्यो त्यहि बन्छ । फलाम नयाँ हँदा मात्र त्यसलाई आवश्यकता अनुसारको आकार दिन सकिन्छ भने ठीक त्यस्तै बाल्यकाल र किशोरावस्थामा सहिमार्गदर्शन, शिक्षा र संस्कार दिइयो भने बच्चाहरु राम्रो आकारमा ढल्न सक्छन । सानै उमेर देखि नै राम्रो पालन पोषण सँगै चरित्र निर्माण र शिष्ट व्यवहार, सामाजिक मुल्य, नैतिक शिक्षा, रिति रिवाजको जानकारी झर्को नमानिकन गराउदै जानु पर्दछ । यी कुराहरुले बच्चामा दिर्घकालिन प्रभाव पार्दछ । बाल्यकालमा पाएको संस्कारले भविष्यको जीवन, सम्बन्ध र पेशामा समेत सकरात्मक प्रभाव पार्दछ । सर्वप्रथम त गर्भ अवस्था शुरु देखिनै आमाले आफ्नो सोच विचार, खानपान र जीवनशैलीमा ध्यान दिदै योग ध्यान प्राणायाम गरि आफुलाई सकारात्मक बनाउदै लैजानु पर्दछ । आमाको दिनचर्याको र पारिवारिक वातावरणले गर्भमा रहेको बच्चालाई गहिरो असर पार्दछ । बच्चाले आमाको गर्भ देखिनै संस्कार सिकिरहेको हुन्छ । भनिन्छ बिरुवा राम्रो हुन र राम्रो फल लाग्न जमीनको उर्वरा शक्त्ति, बाहिरी हावापानि र मलजल राम्रो हुनु पर्दछ ठीक त्यस्तै अवस्था आमाको गर्भमा रहेको शिशुको पनि हुन्छ ।
बच्चाको उमेर बढेसंगै सँगै उनीहरुलाई लोरी गाउदै र राम्रा राम्रा कुराहरु सुनाउदै सुताउदा अति प्रभावकारी हुन्छ । ती कुराहरु बच्चाको अचेत मनमा गहिरो सँग बस्दछन र बच्चाको मनस्तिथिमा एक बिशेष खालको प्रोगामिङ् गरिरहेका हुन्छन् । बच्चा बिस्तारै बोल्ने र बुझ्ने भएपछि बिभिन्न रमाइला, सरल, शान्त, आशावादी सकरात्मक सन्देश दिने, प्रेरणात्मक र छोटा कथाहरु कल्पनाशील, शान्त र मधुर स्वरमा सुनाएर निदाउन दिनुपर्छ जसले बच्चाहरुको डर, चिन्ता र उत्तेजनालाई कम गरोस् । जस्तै अव तिमी भगवान कृष्ण जस्तै साहसी, दयालु र असल बन्ने सपना देख, जसरी बाल गोपालले माया बाँड्नुभयो त्यसै गरि तिमी पनि संसारमा प्रेम र रमाइलो ल्याउने छोरा÷छोरी बन्न, आँखा चिम्ल र मिठो सपना देख आदि । निदाउने बेलामा बच्चालाई जे सुनाइन्छ त्यो संस्कार नै सोच र भविष्यको आधार बन्छ । यहि नै उनीहरुको पहिलो पाठशाला बन्न जान्छ । बिस्तारै ठुलो हुदै गएपछि दान वा भिक्षा दिन सिकाउनु पर्छ । बाल्यकाल देखिनै दान गर्न सिकायो भने बच्चाको मनमा दयालुपन, कृतज्ञता र सहानुभुति जगाउँंछ । त्यसो त माया, समय, सेवा,दान यी सबै हाम्रो संस्कारमा पर्छन । यसरी दान गर्न सिकाउदा मानवता बचेको कुरा पनि सिकाउन सजिलो हुन्छ । यसले बच्चाहरुलाइ आफ्नो भविष्य प्रति कृतज्ञता हुन सिकाउछ, उनीहरुमा अहंकार कम हुन्छ, विनम्रता बढ्छ भने साझेदारी र माया फैलिन्छ । यिनै कुराहरुको संस्कार हेरेर नै बच्चा कस्तो संस्कारमा हुर्किएको रहेछ भन्ने अरुले मुल्याङकन गर्दछन । घरमा आउने पाहुनाहरुलाई आफुले नमस्कार गरे सँगै बच्चालाई पनि सिकाउन पर्दछ र परिचय दिन लगाउनु पर्दछ । यसले गर्दा बच्चाहरु को बोल्ने बानीको विकास हुन्छ र उनीहरु नयाँ मान्छे देख्दा बित्तिकै लुक्ने र लजाउने स्वभावको हुँदैनन् । एकदम मायालु तवरले उनीहरुको सामान जस्तै, खेल्ने कुरा, किताब, कपि, कलम, ब्याग, टिफिन, जुत्ता, मोजा सहि ठाँउमा मिलाएर राख्न सिँकाउदै जानु पर्दछ । जब बच्चाहरु दोहोरो संवाद गर्न थाल्छन उनीहरुलाई आफ्नो काम आंफै गर्न सिकाउनु पर्दछ जस्तै भान्सासंग परिचित गराउंदै खाना पकाउन सिकाउने, भांडाहरु धुने, लुगामा आइरन लगाउने, जुत्तामा पोलिस लगाउने, लुगा धुने लगायतका कार्यहरु विस्तारै आंफै गर्न सिकाउनु पर्दछ । यसबाट उनीहरुमा उत्सुकता बढ्न थाल्छ । जब अब गर्न सक्छन भने पछि आफु सँगै बसेर उनीहरु लाई सँगै राखेर खाना पकाउन सरल तरिकाबाट सिकाउदै लैजाउनु पर्दछ । शुरुमा बच्चाहरुले गल्ति गरे पनि जे जस्तो गरे पनि प्रशंसा गरि अगाडि बढाउनु पर्दछ । यसले गर्दा अझ प्रेरणा र उत्सुकता मिल्छ । अब गर्न सक्छन भन्ने भई सकेपछि पनि बिग्रिएको सामान वा कुनै पनि कुरा म सम्हाल्छु भन्ने मनस्थिति बनाएर छोडिदिनु पर्दछ किनकि कुनै पनि कुरा गल्ति नभएसमम र पटक पटक नबिग्रिए सम्म मानिसले सिक्न सक्दैन ।
काम गर्ने क्रममा शुरुमा गल्ती भयो भन्दैमा गाली गर्ने, थर्काउने गर्यो भने बच्चा हतोत्साहि हुन्छन् र फेरी उसलाई चर्को स्वरको बानी परिसकेको हुन्छ र सोहि आदत बसि सकेको हुन्छ । त्यसैले चर्को स्वर गर्न र गाली गर्न पटक्कै हुदैन । त्यस्तै घरको घराएसी कुरा व्यवहारीक कुराकानी गर्दा वा कुरा गर्दै जाँदा आवाज ठुलो निस्कन थाल्यो भने पनि बच्चाको अगाडि त्यसमा नियन्त्रण गर्नु पर्दछ । यसले बच्चाहरुको दिमागमा नराम्रो असर पर्न जान्छ । हरेक संस्कारका कुराहरु होस या आस्थाका कुराहरु होस उनीहरुलाई आध्यात्मिक तवरका कथा वा कहानी सुन्नमा अभिप्रेरित गर्नुपर्छ । पुजा पाठ पनि आफुले नभ्याउदा यसरी गर भनेर सिकायौँ भने अझ तिनीहरुमा धर्म प्रतिको आस्था जाग्छ । बिहान सुर्य देवतालाई जल चढाउने लगायतका धार्मिक संस्कार पनि सानै देखिनै यो संस्कार सिकाउनु पर्दछ ।
बच्चाहरु भनेका भविष्यका कर्णधार हुन र तिनीहरुले हाम्रा पुर्वज ऋषि सभ्यताका ज्ञान र संस्कारहरु पनि सिक्दै जानु पर्दछ । बच्चालाई सानै देखि संस्कृत पढ्न र बोल्न लगायौ भने उनीहरुको मनोवल बढनुको साथै बोलिमा स्पष्टता हुन्छ । सानै देखि योग, ध्यान प्राणायाम आधारभूत योग अभ्यासहरु सिकाउदै गयो भने पछि गएर योग के हो बुझदै जान्छन र त्यसले गर्दा उनीहरुको जीवनमा निखारता ल्याई आमुल परिवर्तन ल्याउंछ । त्यसको लागि घर परिवार आमा बावु नै योगको यात्रामा रहनु भयो भने त्यसको प्रत्यक्ष प्रभाव पर्दछ ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने बच्चालाइ सानै देखि मेहनत र संघर्ष गर्न सिकाउनु पर्दछ । जस्तो सुकै जटिल परिस्थतीमा पनि धैर्य गर्न र निरन्तर जिवनमा आइपर्ने हरेक चुनौतीहरुको सामना गर्न सिकाउनु पर्दछ । पिपलको उदाहरण दिई जसरी चट्टानमा पनि पिपल उम्रन सक्दछ त्यसैगरी दृढ इच्छाशक्ति भएमा जस्तोसुकै कठिन अवस्थामा पनि सफलता प्राप्त गर्न सकिन्छ र कसैले रोक्न सक्दैन भन्ने उदाहरण दिनु पर्दछ । त्यसैगरी बच्चाहरुलाइ बिभिन्न जनावरहरुको परिचय गराइ सिंह जस्तै बहादुर, चिल जस्तो स्पष्ट दृष्टिकोण र भिजन, घरमै रहेको कुकुर जस्तो इमान्दार, बफादार र बिश्वसनीय, हात्तिजस्तो बुद्दिमता र स्मरणशक्ति भएको, कछुवा जस्तो सत्यता र धैर्यता, माहुरी जस्तो सृजनात्मक परिश्रम र टिम वर्क अंगाल्न प्रेरित गर्नु पर्दछ, कमिला जस्तो कठोर परिश्रम र अनुशासन र लक्ष्य पुरा गर्न, घोडा जस्तो थकाइ नभनी निरन्तर अगाडि बढि आफ्नो शक्ति परिश्रम र समर्पण लगाइ लक्ष्य पुरा गर्न प्रेरित गर्नु पर्दछ । त्यस्तै गरी बच्चाहरुलाइ सधैं जीवनमा उज्याला पक्षहरुमा मात्र ध्यान केन्द्रित गर्न सिकाउनु पर्दछ । चन्द्रमाको उदाहरण दिंदै चन्द्रमामा दाग र प्रकाश दुबै देखिएतापनि प्रकाशको नै महत्व हुन्छ भन्ने कुराको बोध गराउनु पर्दछ । जिबन प्रकृतिको अनुपम उदाहरण भएकोले हरेक पल मुस्कुराउन प्रेरित गर्नु पर्दछ । बच्चालाइ कहिल्यै पनि अन्य व्यक्ति संग तुलना गरि अनाबश्यक दबाव दिनु हुंदैन । बरु तिमी कस्तो मान्छे बन्ने त्यो तिम्रो हातमा छ भन्दै एक सफल, इमान्दार र कर्तब्यनिष्ठ नागरिक बनाउन सोहि अनुशारको बातावरण तयार गर्नु पर्दछ । हरेक बच्चाहरुमा केहि बिशेष तथा फरक क्षमता हुन्छ र सानै उमेरमा अभिभावकले त्यसलाइ चिनेर सो क्षमताको बिकास गर्न मद्दत पुग्ने पारिवारीक संस्कार वातावरण सीर्जना गर्नु पर्दछ ।


