२० आश्विन २०८३, मंगलबार 6:35 pm
Banner

रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिबाट रामहरि खतिवडाले औपचारिकरूपमा राजीनामा बुझाएका छन् । खतिवडाले बुधबार सभामुखलाई राजीनामा पत्र बुझाएका हुन् । उनले मंगलबार प्रतिनिधिसभाको रोष्ट्रमबाट राजीनामाको घोषणा गरेका थिए ।

निजामती सेवा विधेयकको कुलिङ पिरियडमा छेडखानी छानबिनका लागि गठित संसदीय समितिले नैतिक जिम्मेवार ठहराएपछि उनले राजीनामा दिएका हुन् । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका सचेतक महेश बर्तौलालाई साक्षी राखेर उनले राजीनामा पत्र बुझाएका हुन् ।

‘मिति २०८२ साल साउन २७ गते बसेको संघीय संसद, प्रतिनिधिसभाको बैठकमा मैले बोल्ने क्रममा प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिने घोषणा गरे बमोजिम आजैबाट लागु हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु’ खतिवडाको राजीनामा पत्रमा उल्लेख छ ।