काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको रुपन्देही कारागार बसाइ र सुविधाका विषयमा विभिन्न खाले टिकाटिप्पणी भइरहेका बेला गृहमन्त्री रमेश लेखकले बुधबार प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार आयोगको बैठकमा कटाक्ष गरेका छन्। कारागारमा रविलाई न्यूनतम सुविधा समेत नदिएको आरोपले हल्ला पिटिरहेका बेला मन्त्री लेखकले भौतिक पूर्वाधार अभाव र बजेटको सिमितताका कारणले चाहेका जति धेरै सुधारका काम गर्न नसकिएको बताए।
‘मुस्किलले १५/१६ जना अटाउने ठाउँमा ३५ जना मानिस बसेको माननीय ज्यूहरूले हेरेर आउनुभएको छ। त्यहाँ तिर त भौतिक पूर्वाधारकै कुरा जोडिन्छ।’ बैठकमा उठेका प्रश्नहरूको जवाफ दिदैं गृहमन्त्री लेखकले भने- ‘१५ जनाको ठाउँमा ३५ जना राख्यो भने त स्वास्थ्यको समस्या सुरु होला। मनोवैज्ञानिक विषय होला। मानिसलाई राम्ररी निन्द्रा नपरेपछि दिनभरी रिस उठ्ला। त्यसपछि झगडा होला। कपतिपय यी कुराहरू जोडिएका छन्।’
मन्त्री लेखकले देशभरका कारागारमा एक या दुई कैदी बन्दी मात्रै एउटै कोठामा बसेको जानकारी दिए। ‘अब प्रत्येक बन्दीलाई एक/एक कोठा अथवा एक कोठामा दुई/तीन कैदीसम्म राख्न सकेर व्यवस्थित गर्न सके हुन्थ्यो। तर देशभरिमा एउटै कोठामा एउटा कैदी बसेको एक या दुई कैदी होलान्। होइन भने प्रत्येक कोठामा १०/१२/१५/२० यदि, ५ सम्भावना छ भने कैदीबस्ने भने त १०/१५ बसेका होलान्। १५ छ भने ३०/३५ जना बसेको स्थिति छ।’
मन्त्री लेखकले कटाक्ष गर्दै भने– ‘एउटा कोठामा एउटा कैदी बसेको बिरलै होला। एक जना दुई जना कोही बस्नु भएको होला। अन्यथा सबै कैदीबन्दीहरुको त्यो स्थिति छ। समितिलाई स्थितिका बारेमा सरकारका तर्फबाट जानकारी गराउँछु। मन्त्री लेखकले पूर्वगृहमन्त्री लामिछानेलाई कारागार स्थान्तरणको विषय अघि बढेको जानकारी दिए। कारागार स्थान्तरण सरकारले गर्ने बताउँदै सुरक्षा लगायत सबै कुरा हेरेर निर्णय गर्नुपर्नेमा मन्त्री लेखकको भनाई छ। ‘अड्डासारका लागि अदालतबाट आदेश होइन सहमति/अनुमति लिने कुरो हो। जुन अदालतमा मुद्दा चलिरहेको हुन्छ। त्यो अदालतले अनुमति दिने कुरो हो। अदालतको अनुमति प्राप्त छ। उहाँको निवेदन पनि छ।’
उनले भने ‘सरकारले कुन कारागारमा सार्ने सुरक्षाका सबै कुराहरू हेरेर निर्णय गर्नुपर्छ। यो कुरालाई मैले गम्भीरता पूर्वक लिएको छु। म थप सकारात्मक रुपमा लिन्छु।’ उनले रवि लामिछानेले कारागारमा पाउनुपर्ने सुविधाबाट वञ्चित नभएको सुनाए। ‘जेलहरू साँघुरा छन्। सानै भएपनि उहाँलाई अलगै कोठामा राखिएको छ। कारागार प्रशासनले समस्याका बारेमा बेला बखतमा सोधेको मैले जानकारी पाएको छु।’ गृहमन्त्री लेखकले भने– ‘कारागारमा उपलब्ध हुने सुविधाबाट वञ्चित गरिएको अवस्था छैन। उहाँलाई विशेष सुविधा दिएको छ भन्ने पनि होइन।’ लामिछानेलाई साँघुरो भएपनि एउटा कोठामा एक्लै राखिएको बताए। ‘अब स्क्वायरफिटमै कोठामा नापचाँज आएकै छ। त्यसमा वहाँ एक्लै बस्नु भएको छ।’ लेखकले भने।


