इस्लामावाद । पाकिस्तान र पाक(प्रशासित कश्मीरमा लगातारको वर्षा, बाढी र पहिरोका कारण मृत्यु हुनेहरूको सङ्ख्या तीव्र गतिमा बढ्दै ३०७ पुगेको अधिकारीहरूले जनाएका छन्।
सबैभन्दा बढी क्षति उत्तर–पश्चिम पाकिस्तानको पहाडी क्षेत्र खैबर पख्तुनख्वा प्रान्तमा भएको छ, जहाँ अधिकांश मृतक फेला परेका छन्। प्रान्तमा कम्तीमा ७४ घर ध्वस्त भएका छन् भने उद्धार कार्यका क्रममा एउटा हेलिकप्टर खसेर पाँचै जना चालक दल सदस्यको ज्यान गएको छ।
पाक– प्रशासित कश्मीरमा थप नौ जनाको मृत्यु भएको छ भने उत्तरी गिलगित–बाल्टिस्तान क्षेत्रमा पाँच जना मृतक पुष्टि भएको छ। सरकारी मौसमविद्हरूले २१ अगस्टसम्म उत्तर–पश्चिम क्षेत्रमा अझै भारी वर्षा हुने सम्भावना बताउँदै प्रभावित जिल्लाहरूलाई ‘जोखिम क्षेत्र’ घोषणा गरिएको जानकारी दिएका छन्।
खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिन गडापुरका अनुसार अफगानिस्तानसँग जोडिएको बाजौरतर्फ उडिरहेको एम–१७ उद्धार हेलिकप्टर खराब मौसमका कारण दुर्घटना भएको हो। प्रान्तीय सरकारले एक दिने शोक घोषणा गरेको छ।
यसैबिच, भारतीय–प्रशासित कश्मीरमा पनि शुक्रबार एक हिमाली गाउँमा आएको भीषण बाढीले कम्तीमा ६० जनाको मृत्यु भएको र अरू धेरै बगाएको भारतीय अधिकारीहरूले जनाएका छन्। उद्धारकर्ताहरूले माटो र भग्नावशेषबाट शवहरू निकालिरहेका छन्।
मनसुनका कारण दक्षिण एसियामा हरेक वर्ष जुनदेखि सेप्टेम्बरसम्म वार्षिक वर्षाको करिब तीन–चौथाइ पानी पर्छ। गत जुलाईमा पाकिस्तानको सबैभन्दा ठुलो जनसङ्ख्या भएको प्रान्त पन्जाबमा अघिल्लो वर्षको तुलनामा ७३ प्रतिशत बढी वर्षा र अझ बढी जनहानि भएको थियो। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनका कारण यस क्षेत्रका मौसमी विपद्को तीव्रता र आवृत्ति दुवै बढ्दै गएको छ।


