काठमाडौं । बझाङमा निर्माण हुने २१६ मेगावाट क्षमताको माथिल्लो सेती जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको जिम्मेवारी कुमारी बैंक र एनएमबी बैंकले लिएका छन् । बझाङको साइपाल गाउँपालिका–४ र ५ मा निर्माण हुने सो आयोजनाको लागि कुमारी बैंकको नेतृत्व तथा एनएमबी बैंकको सहनेतृत्वमा वित्तीय व्यवस्थापन भएको हो ।

काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा कुमारी बैंक र आयोजनाको प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडबीच वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरिएको छ । सम्झौतामा कुमारी बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र प्रवद्र्धक कम्पनी समृद्धि इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष शैलेन्द्र गुरागाईंले हस्ताक्षर गरेका हुन्। साथै, सो आयोजनमा माछापुच्छ्रे बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, लक्ष्मी सनराईज बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, प्रभु बैंक, नेपाल एसबिआई बैंक, एनआइसी एसिया बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक, साङ्ग्रिला डेभलपमेन्ट बैंक, कामना सेवा विकास बैंक र आइसिएफसि फाइनान्ससहितको सहवित्तीय व्यवस्थापन भएको छ ।
करिब ४१ अर्ब ६० करोड लागतमा निर्माण हुन लागेको आयोजनालाई ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजीको अनुपातमा अघि बढाइने जानकारी दिइएको छ । नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता भइसकेको सो आयोजनाले विद्युत् उत्पादन अनुमति प्राप्तसमेत गरिसकेको छ । आयोजना आगामी पाँच वर्षभित्र सम्पन्न गरी २०८८ सालको असार ३१ गतेभित्र व्यावसायिक उत्पादन गर्ने लक्ष्यसहित अघि बढाइएको प्रवद्र्धक गुरागाईले जानकारी दिए ।


