गुल्मी, २ भदौ । वर्षाका कारण पहिरो जाँदा मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीको तम्घास‐रिडी सडकखण्ड अवरुद्ध बनेको छ । सडकअन्तर्गत रेसुङ्गा नगरपालिका‐१३ स्थित भँगारी खोलामा सडकमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
सदरमुकाम तम्घास नजिकै रहेको सडक खुलाउन अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले जानकारी दिएका छन् ।
रेसुङ्गा नगरपालिकाले सडकमा थुप्रिएको पहिरो हटाउनका लागि उपकरण पठाइसकेको नगर प्रमुख खिलध्वज पन्थीले बताए ।
सडक अवरुद्ध बनेपछि सदरमुकाम तम्घासबाट बाहिरिने र सदरमुकाम भित्रिने सवारी साधनहरुबीच बाटोमै रोकिएका छन् । अहिले अवरुद्ध सडक खुलाउने काम भइरहेको प्रहरीले जनाएको छ ।


