३० जेष्ठ २०८३, शनिबार 1781379350
Banner

अहिलेसम्म एक रुपैयाँ घुस लिएको छैन : राजेन्द्र लिङ्देन

काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङदेनले राजनीतिलाई पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका छन् ।

राप्रपा केन्द्रीय प्रशिक्षण विभागले आइतबार काठमाडौंमा आयोजना गरेको नारी नेतृत्व समृद्धि प्रशिक्षण कार्यक्रममा अध्यक्ष लिङदेनले राजनीति नितान्त सेवाको क्षेत्र भएकाले पैसा कमाउने माध्यम नबनाउन आग्रह गरेका हुन् ।

उनले राजनीतिले खान लाउन नदिने भएकाले राजनीतिमा लागेका हरेक व्यक्तिहरुले कुनै न कुनै व्यवसाय गर्नैपर्ने बताए । लिङदेनले आफूले राजनीतिक जीवनमा कुनै बेइमानी नगरेको र कसैको एक रुपैयाँ पनि घुस नलिएको दावी गरे । लिङ्देनले आफू निम्न वर्गीय परिवारबाट आएको भन्दा कतिपयले आफूलाई हेपेर व्यवहार गरेको पनि सुनाएका छन् ।

‘कतिपय साथीहरूले म एकदमै निम्न वर्गीय परिवारबाट आएको मानिस हुँ भनेर मैले भन्छु, त्यो भन्दाखेरी कति कतिले मलाई हेपेर पनि व्यवहार गर्छन्,’ उनले भने, ‘पहाडबाट कोदो खान नपुगेर मधेश झरेको, झापाको सुकुमबासीको छोरा यसलाई अध्यक्ष मान्नु पर्‍यो भनेर पीर गर्ने मान्छे पनि छन् ।’ उनले आफू सुकुमबासी परिवारबाटै आएको भए पनि खाने गाँस र लगाउने कपडामा बेइमानीको एक अंश पनि नरहेको जिकिर गरे ।

उनले नेपालका भएका स्रोत साधनको अधिकतम उपयोग गर्न सके कुनै पनि युवाहरू विदेशिन नपर्ने गरी स्वदेशमा परिचालन गर्न सकिने बताएका छन् । उनले पार्टीले लिएको उद्देश्य पूरा गर्न एकजुट भएर लाग्न पार्टीको महिला संगठनलाई निर्देशन दिए ।