१२ श्रावण २०८३, मंगलबार 1785301435
समाज

मकवानपुरमा चट्याङ पर्दा १ को मृत्यु, ११ घाइते

मकवानपुर : मकवानपुरको मनहरी गाउँपालिका-६ हाङलाङमा मंगलबार साँझ चट्याङ पर्दा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्। वडाध्यक्ष युवराज थपलियाका अनुसार मानबहादुर घलानको घरमा भइरहेको अन्तिम किरिया (घेवा)का क्रममा परेको चट्याङले ४६ वर्षीय विशाल ब्लोनको घटनास्थलमै मृत्यु भएको हो।

घटनामा घाइते भएकामध्ये १२ वर्षीय सुजन घलान, १२ वर्षीया वर्षा घलान, १६ वर्षीय सन्तोष घलान, ७२ वर्षीया सानुमाया घलान, ३७ वर्षीय राजकुमार घलान, ३२ वर्षीया शान्ति घलान र उनकी २ वर्षीया छोरी सारा घलान रहेका छन्। त्यस्तै ५० वर्षीय प्रमाणसिंह तितुङ, ४४ वर्षीय पानबहादुर मुक्तान, ३४ वर्षीय प्रेमबहादुर घलान र १२ वर्षीय आर्यन तितुङ पनि घाइते भएका छन्।

सबै घाइतेको मनहरी अस्पतालमा उपचार भइरहेको छ। अस्पताल प्रमुख डा. रश्मी झाका अनुसार गम्भीर अवस्था नरहेकाले सामान्य उपचारमै व्यवस्थापन गरिएको छ। घटनापछि गाउँपालिका अध्यक्ष रन्जन कालाखेती अस्पताल पुगेर उद्धार र उपचार व्यवस्थामा सहयोग गरेका थिए। उनले सबै घाइतेको उपचार निःशुल्क हुने जानकारी दिँदै २ वर्षीय सारा घलानको परिवारलाई तत्कालीन सहयोगस्वरूप १० हजार रुपैयाँ उपलब्ध गराएका छन्।