काठमाडौँ । नेपालमा रासायनिक मल कारखाना स्थापनाका लागि भारतीय सहयोगको प्रस्ताव बोकेर नेपाल आयल निगमको एक उच्चस्तरीय टोली दिल्ली पुगेको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग कारखाना स्थापनामा लगानी सुनिश्चितताका विषयमा ठोस छलफलका लागि पाँच सदस्यीय टोली आईओसीको मुख्यालय पुगेको निगमका प्रवक्ता मनोज ठाकुरले बुधवार जानकारी दिए ।
ठाकुरका अनुसार मंगलबार निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट, नायब कार्यकारी निर्देशक दीपक बराल र पूर्ण रिजाल निर्देशक विनीतमणि उपाध्याय र सुरज साह आइओसी मुख्यालय गएका हुन् । ‘बुधवार दिउँसो आईओसीका अधिकारीसँग नेपालमा मल कारखानामा लगानी गर्ने विषयमा छलफल गर्ने कार्यसूची छ ,’ ठाकुरले भने ।
मल कारखानाबाहेक पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने र हाइड्रोजन बस सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ । निगमले इथानोल मिसाउने कार्यविधि बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइसकेको छ ।


