१६ असार २०८३, मंगलबार 1782873689
Banner

खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकेर हिँडेको छ : विद्या भण्डारी

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले ठुला दलहरूले प्रणालीलाई जसरी अघि बढाउनुपर्ने हो त्यसरी बढाउन नसकेको टिप्पणी गरेकी छन् । बिहीबार मदन भण्डारीको ७५ औँ जन्मजयन्ती मूल व्यवस्थापन समितिको कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो बताएकी हुन् ।

कार्यक्रममा बोल्दै उनले भनिन्,‘खुट्टाले टेकेर हिँड्नुपर्ने अर्थतन्त्र टाउको टेकिरहेको छ । आयातमा आधारित भन्सारमा चलेको र व्यापार घाटा भएको,वैदेशिक ऋण बढेको, राष्ट्रिय पूँजीको विकास हुन नसक्नु दुखद परिस्थिति हो ।’ उनले सिमित व्यक्तिको पदका लागि राजनीति गर्न नहुनेमा जोड दिँदै पार्टीहरूभित्र लोकतान्त्रिक प्रणाली निम्छरो भएको बताइन् । 

एउटा राजनीतिक प्रणालीलाई जसरी अघि बढाउनु पर्ने हो त्यसरी अघि बढाउन सकेका छैनन् । म एउटा दलको मात्र कुरा गर्दिन’, उनले थप भनिन्, ‘मैले भन्यो भने नेकपा एमालेलाई आलोचना गरेजस्तो हुनसक्छ । तर एमाले पनि एउटा अग्रज पार्टी भएको नाताले, प्रगतिशील राष्ट्रवादी पार्टी भएकाले विचार पुर्‍याउनुपर्छ ।’

उनले मधेसमा पिउने पानी दिन नसकेको, युवाहरूले रोजगारी दिन नसकेको जस्ता विषयमा गम्भिरतापूर्वक सोच्नुपर्ने समय आएको बताइन् ।‘कुरा त हुन्छ तर कुराले काम बन्दैन, यथार्थमा काम हुनुपर्‍यो । उद्योगधन्दाहरू किन चल्न सकेका छैनन् ?’भण्डारीको प्रश्न छ । उनले युवाहरूमा बढेको निराशा दलहरूले चिर्न सक्नुपर्ने धारणा राखिन् ।