जनकपुरधाम, १० भदौ । सङ्घीय सरकारको भूमि व्यवस्था, सहकारी तथा गरीवीमन्त्री बलराम अधिकारीले धनुषाको विदेह नगरपालिकाको इटहर्वामा आयोजित एक समारोहबीच सो पालिकाका एक हजार १०० जनालाई जग्गाधनी प्रमाण–पूर्जा वितरण गर्नुभएको छ ।
नापी कार्यालय धनुषाद्वारा आज आयोजित समारोहमा गाउँब्लक जग्गाधनी दर्ता प्रमाण–पूर्जा वितरण कार्यक्रममा सो पालिकाको वडा नं एकदेखि वडा नं नौसम्मका जनतालाई उहाँले जग्गाधनी प्रमाणपत्र वितरण गर्नुभएको हो । मन्त्री अधिकारीले भूमि समस्याको समाधान सङ्घीय सरकारको एक्लो प्रयासले समाधान गर्न समस्या भएकाले तीनै तहका सरकारको सहयोग तथा समन्वय आवश्यक रहेको बताउनुभयो । आगामी तीन वर्षमा भूमिहीन, सुकुम्वासी, भूमिहिन दलित तथा अव्यवस्थित वसोवासीको समस्या समाधान हुने उहाँले आश्वासन दिनुभयो ।
साथै भूमि आयोगको कार्यमा सबैको सहयोग आवश्यक रहेको उल्लेख गर्दै उहाँले भूमि समस्या समाधान गर्न सरकारले उच्च प्राथमिकतामा दिएको बताउनुभयो । सङ्घीय सांसद रामकृष्ण यादवले जनताको हकहितको विषयमा राजनीति तथा भेदभाव गर्न नहुने विचार व्यक्त गर्नुभयो । विदेह नगरपालिकाका नगरप्रमुख वेचन दासले नापी कार्यालयबाट खटिएका कर्मचारीले लालपुर्जा बनाउने तथा सर्वे गर्ने कार्यमा सर्वसाधारणलाई दुःख दिने तथा गैरकानुनीरूपमा रकम माग्ने गरेको गुनासो गर्नुभयो ।


